
काठमाडौं। नेपाल भ्रमणमा आउने कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आरक्षजस्ता संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेको सरकारी तथ्यांकले देखाएको छ। यसले संरक्षित क्षेत्रहरू विदेशी पर्यटकका प्रमुख आकर्षणका रूपमा स्थापित भएको पुष्टि गरेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी र विदेशी गरी कुल १० लाख ९७ हजार ८३६ पर्यटकले संरक्षित क्षेत्रहरूको भ्रमण गरेका छन्। तीमध्ये सार्क मुलुक तथा अन्य विदेशी पर्यटकको संख्या पाँच लाख ११ हजार ७६२ रहेको छ भने नेपाली पर्यटक पाँच लाख ८६ हजार ७४ जना रहेका छन्।
विभागका महानिर्देशक बुद्धिसागर पौडेलका अनुसार उक्त अवधिमा पर्यटक प्रवेश शुल्कबाट रु एक अर्ब ५२ लाख १६ हजार राजस्व संकलन भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी पर्यटकले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्, जहाँ तीन लाख ४६ हजार ६४४ जना पुगेका थिए। त्यसपछि अन्नपूर्ण संरक्षण क्षेत्र मा दुई लाख ७८ हजार ११३ र चितवन राष्ट्रिय निकुञ्ज मा दुई लाख ४९ हजार ९५६ पर्यटक प्रवेश गरेका थिए। सबैभन्दा कम पर्यटक अपिनाम्पा संरक्षण क्षेत्र मा पुगेका छन्, जहाँ वर्षभरिमा २२९ जना मात्र पर्यटक पुगेका थिए।
नेपालमा हाल १३ राष्ट्रिय निकुञ्ज रहेका छन्, जसमा सगरमाथा राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्र समावेश छन्।
त्यसैगरी कञ्चनजङ्घा संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, गौरीशङ्कर संरक्षण क्षेत्र लगायत छ संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष तथा कोशीटप्पु वन्यजन्तु आरक्ष रहेका छन्। यी संरक्षित क्षेत्रहरूले नेपालको कुल भूभागको २३.३९ प्रतिशत हिस्सा ओगटेका छन्।
