Nepal Purbadhar

दुलेगौँडा-हर्कपुर सडकको पुरानो ठेक्का तोडेर नयाँ लगाउन माग


काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौँडा-हर्कपुर मोटरमार्ग निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीयले पुरानो ठेक्का सम्झौता अन्त्य गरी नयाँ ठेक्का आह्वान गर्न माग गरेका छन्।

दुलेगौँडा-हर्कपुर मोटरमार्ग सङ्घर्ष समितिका संयोजक राजन रिमालले पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई पत्र लेख्दै निर्माणमा भएको ढिलाइबारे निष्पक्ष छानबिन गरी तत्काल काम अघि बढाउन माग गरेका हुन्।

विसं २०५२ मा ट्रयाक खोलिएको उक्त सडक निर्माणका लागि विसं २०७४ मा ठेक्का सम्झौता भएको थियो। तर, ठेक्का लागेको करिब ९ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन।

रिमालले सम्झौताअनुसार काम नभएको पुष्टि भएमा सार्वजनिक खरिद कानुन र सम्झौताका सर्तअनुसार पुरानो ठेक्का अन्त्य गरी बाँकी कामका लागि नयाँ ठेक्का आह्वान गर्नुपर्ने बताएका छन्।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने २३ किलोमिटर लामो सडकको पहिलो चरणमा १० किलोमिटर कालोपत्र गर्ने ठेक्का शङ्करमाली निर्माण सेवा प्रालिले पाएको थियो।

सडक निर्माणमा भएको ढिलाइले स्थानीय बासिन्दा, कृषक, व्यवसायी तथा विद्यार्थीको आवागमन प्रभावित हुनुका साथै कृषि उपज ढुवानी, व्यापार र पर्यटन गतिविधिमा समेत असर परेको स्थानीयको भनाइ छ।


Read Previous

बागलुङका ७ स्थानीय तहमा १५ बेलिब्रिज निर्माण गरिँदै

Read Next

धनौजी गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र वितरण सुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar