
काठमाडौं। नेपालको पर्यटन बजारमा अमेरिकी पर्यटकको आगमन बढेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अक्टोबर २०२६ मा भारतीय पर्यटकलाई उछिन्दै अमेरिकी पर्यटक नेपाल आउने विदेशी पर्यटकमध्ये पहिलो स्थानमा पुगेका हुन्।
बोर्डका अनुसार अक्टोबरमा १ लाख ३२ हजार ८१४ पर्यटक नेपाल भित्रिएका छन्। तीमध्ये सबैभन्दा धेरै १७ हजार ४३७ अमेरिकी पर्यटक रहेका छन्। अघिल्लो वर्षको सोही महिनामा १३ हजार २८६ अमेरिकी पर्यटक आएका थिए।
यस अवधिमा भारतीय पर्यटकको आगमन भने घटेको छ। अक्टोबरमा १२ हजार ९७ भारतीय नेपाल आएका छन्। अघिल्लो वर्षको सोही महिनामा १७ हजार २९८ भारतीय पर्यटक आएका थिए।
पर्यटक आगमनमा चीन तेस्रो स्थानमा छ। चीनबाट ११ हजार ६९५, बेलायतबाट ९ हजार ३८५ र अष्ट्रेलियाबाट ९ हजार ३५२ पर्यटक नेपाल आएका छन्। त्यस्तै, जर्मनीबाट ६ हजार ११४ र श्रीलंकाबाट ५ हजार ५६० पर्यटक भित्रिएका छन्।
भारतीय पर्यटक घट्दा सार्क क्षेत्रबाट हुने आगमन १७.२ प्रतिशतले घटेर २४ हजार ५३ मा सीमित भएको छ। यसको विपरीत युरोपबाट आउने पर्यटक ३९ हजार ८७७ पुगेका छन्। अमेरिकी मुलुकहरूबाट २१ हजार २७० पर्यटक नेपाल आएका छन्।
अघिल्लो वर्षको अक्टोबरमा १ लाख २८ हजार ४४३ पर्यटक आएकोमा यस वर्ष ३.४ प्रतिशतले वृद्धि भएको पर्यटन बोर्डको तथ्यांक छ।


