
काठमाडौं । स्विट्जरल्यान्डले नेपालको जलविद्युत् क्षेत्रको विकास तथा समग्र आर्थिक उन्नतिका लागि आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।
स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे-आन्द्रे पेजले नेपालको प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै जलविद्युत् क्षेत्रको विकास गर्न सकिने बताएका हुन्।
सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा अध्यक्ष पेजले प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपालले हिमाल र जलस्रोतलाई आर्थिक समृद्धिको आधार बनाउन सक्ने धारणा व्यक्त गरे।
नेपालमा जलविद्युत् विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले यस क्षेत्रको विकासमार्फत मुलुकको आर्थिक उन्नतिमा योगदान पुर्याउन सकिने बताए। नेपालको विकासका लागि स्विट्जरल्यान्ड सबै प्रकारको सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।
भेटका क्रममा सभामुख अर्यालले पनि स्विट्जरल्यान्डसँगको विकास सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे। उनले स्विस विकास सहकार्यले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे।
उनले दुई देशबीचको संसदीय सम्बन्ध, सहयोग र अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको बताए।


