Nepal Purbadhar

रासिद र करणको विस्फोटक ब्याटिङमा काठमान्डु गोर्खाजको पहिलो जित


काठमाडौं । रासिद खान र करण केसीको उत्कृष्ट ब्याटिङमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो।

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

काठमान्डुको जितमा रासिद खानले अर्धशतक प्रहार गरे। उनले ३४ बलमा ३ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए। कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ३ छक्कासहित ४४ रन जोडे।

त्यस्तै जहानदान खानले १० बलमा १ चौका र २ छक्काको मद्दतमा अविजित २२ रन बनाए। उनले १९औँ ओभरमा पवन सर्राफको बलमा लगातार २ छक्का प्रहार गर्दै काठमान्डुलाई जितको नजिक पुर्‍याएका थिए।

डेभिड वार्नरले एनपीएल डेब्यु खेलमा १६ रन बनाए। स्मित पटेलले ९, आदिल आलमले २० र भीम शार्कीले ४ रन जोडे।

कर्णालीका सोमपाल कामी र हुसेन तलतले २-२ विकेट लिए भने मार्क वाट र नन्दन यादवले १-१ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। हुसेन तलतले ३० बलमा ४० रन तथा पवन सर्राफले अविजित ३० रनको योगदान दिए। गुल्सन झाले १२ बलमा २० रन जोडे।

कर्णालीका ओपनर जिशान आलमले ७ रन बनाए। पवन सर्राफ र हुसेन तलतले पाँचौँ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

बलिङतर्फ काठमान्डुका कप्तान करण केसीले २ विकेट लिए। शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले १-१ विकेट लिए।

पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डुले दोस्रो खेलमा पहिलो जित निकाल्दै २ खेलबाट २ अंक जोडेको छ। लगातार दुई खेल जितेको कर्णालीले भने पहिलो हार बेहोरेको छ।


Read Previous

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

Read Next

एक महिनामै भित्रिए १ लाख ३२ हजार पर्यटक, नेपालमा अमेरिकी पर्यटकको ओइरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar