
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसपटक विजेताको पुरस्कार राशि अघिल्लो संस्करणको तुलनामा ४० लाख रुपैयाँले बढाएको हो।
क्यानले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको हो। क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
गत संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो। यसपटक विजेताको पुरस्कार राशि बढाएर १ करोड ५० लाख रुपैयाँ पुर्याइएको हो।
पुरस्कार राशि बढेसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ।
एनपिएलको तेस्रो संस्करण सोमबारदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरू हुँदैछ। प्रतियोगितामा यसपटक पनि आठ ओटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।

