Nepal Purbadhar

आँबुखैरेनीमा पूर्वाधार विकास तीव्र, सडक र खानेपानी विस्तारमा जोड


दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, ढल निकास तथा भवन निर्माणलाई प्राथमिकता दिँदै पूर्वाधार विकासका काम अघि बढाएको छ। गाउँपालिकाले गत आर्थिक वर्षदेखि सडक ढलान, कालोपत्र, नयाँ सडकको ट्र्याक निर्माण र खानेपानी पाइपलाइन विस्तारलाई प्राथमिकतामा राखेर काम गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माका अनुसार उक्त अवधिमा ४ हजार ९१८ मिटर सडक ढलान, १ हजार २६४ मिटर सडक कालोपत्र र ८८१ मिटर नाली निर्माण गरिएको छ। यसैगरी ३ हजार ५५४ मिटर नयाँ सडकको ट्र्याक खोलिएको छ।

खानेपानी सुविधा विस्तारअन्तर्गत ८ हजार ५०० मिटर नयाँ पाइपलाइन बिछ्याइएको छ भने चार ओटा सार्वजनिक धारा निर्माण गरिएको छ। गाउँपालिकाले सडकको अवस्था सुधार गर्न १ हजार ६०० मिटर सडक मर्मत तथा सम्भारसमेत गरेको शर्माले जानकारी दिए।

स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहलाई सहज बनाउन आवश्यक भौतिक संरचना निर्माण तथा मर्मतमा पनि गाउँपालिकाले लगानी गरेको छ। यस अवधिमा दुई ओटा नयाँ भवन निर्माण र सात ओटा भवन मर्मत गरिएको छ।

पाँच ठूला सडक आयोजना प्राथमिकतामा

गाउँपालिकाले ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने उद्देश्यले पाँच ओटा ठूला पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखेको छ।

लाब्दी-बुद्धसिंह राजमार्ग जोड्ने सडक आयोजनाअन्तर्गत १ हजार ८०८ मिटर सडक निर्माण गरिएको छ। त्यस्तै, खानीखोला-रिङरोड आयोजना अन्तर्गत १ हजार ३३६ मिटर सडक निर्माण भएको छ।

यसैगरी लाब्दी-छिम्केश्वरी सडक स्तरोन्नति आयोजनाअन्तर्गत १५८ मिटर, कुसुमबारी-पौवा खोलागाउँ सडक ढलान आयोजनाअन्तर्गत ५६० मिटर र भुजेलगाउँ पूर्वाधार निर्माण योजनाअन्तर्गत ४१४ मिटर सडक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

सडक पूर्वाधारसँगै खानेपानी, वर्षाको पानी निकास र सार्वजनिक भवन निर्माणलाई प्राथमिकता दिँदै गाउँपालिकाले ग्रामीण क्षेत्रको पहुँच तथा स्थानीय सेवा सुविधामा सुधार गर्ने लक्ष्य राखेको छ।


Read Previous

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन, १७० मेगावाट प्रणालीमा जोडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar