Nepal Purbadhar

तनहुँका १० ओटा स्थानीय तहको बजेट साढे सात अर्ब, पूर्वाधार र सामाजिक विकासमा जोड


दमौली। तनहुँका १० ओटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु ७ अर्ब ७८ करोड २६ लाख २० हजार ८७३ को बजेट सार्वजनिक गरेका छन्। जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा ठूलो बजेट व्यास नगरपालिकाले ल्याएको छ। नगरपालिकाले आगामी वर्षका लागि रु १ अर्ब ५० करोड २० लाख १ हजारको बजेट सार्वजनिक गरेको हो। त्यसपछि शुक्लागण्डकी नगरपालिकाले रु १ अर्ब १३ करोड ५४ लाख ३९ हजार, भानु नगरपालिकाले रु ८४ करोड ६६ लाख ४४ हजार र भीमाद नगरपालिकाले रु ६३ करोड ५३ लाखको बजेट प्रस्तुत गरेका छन्।

चार ओटा नगरपालिकाको कुल बजेट रु ४ अर्ब ११ करोड ९३ लाख ४५ हजार २४ पुगेको छ भने छ ओटा गाउँपालिकाको कुल बजेट रु ३ अर्ब ६६ करोड ३२ लाख ७५ हजार ८४९ रहेको छ।

गाउँपालिकामध्ये म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजार, बन्दीपुर गाउँपालिकाले रु ६८ करोड ७८ लाख ८० हजार ८४९, आँबुखैरेनी गाउँपालिकाले रु ६४ करोड, देवघाट गाउँपालिकाले रु ५५ करोड ५८ लाख ६७ हजार, ऋषिङ गाउँपालिकाले रु ५३ करोड ६२ लाख ५० हजार र घिरिङ गाउँपालिकाले रु ५० करोडको बजेट सार्वजनिक गरेका छन्।

व्यास नगरपालिकाले सामाजिक विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिँदै रु ७२ करोड २९ लाख ९१ हजार विनियोजन गरेको छ। नगरपालिकाले चालुतर्फ रु १ अर्ब २ करोड ३७ लाख ६२ हजार र पुँजीगततर्फ रु ४७ करोड ४२ लाख ३९ हजार छुट्याएको जनाएको छ।

म्याग्दे गाउँपालिकाले चालुतर्फ रु ४७ करोड ९३ लाख र पुँजीगततर्फ रु २६ करोड ३९ लाख ४५ हजार विनियोजन गरेको छ। गाउँपालिकाले सामाजिक विकास, पूर्वाधार निर्माण, कृषि तथा आर्थिक विकासलाई बजेटको मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

स्थानीय तहहरूले आगामी वर्ष कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, सडक तथा अन्य भौतिक पूर्वाधार विस्तार, स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार, डिजिटल सेवा प्रवाह तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई विशेष प्राथमिकता दिएका छन्। बजेटमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिइएको जनाइएको छ।


Read Previous

११ महिनामा वीरगञ्ज भन्सारले उठायो २ खर्ब २१ अर्ब राजस्व, गत वर्षभन्दा १८ अर्ब बढी

Read Next

मोरङमा मानवरहित स्मार्ट सबस्टेसन सञ्चालनमा, विद्युत् वितरण प्रणालीमा नयाँ प्रयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar