
काभ्रेपलाञ्चोक। गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेसँगै असार १५ गतेदेखि पुनर्निर्मित ट्र्याकबाटै सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार राजमार्गको अधिकांश क्षतिग्रस्त क्षेत्रमा ट्र्याक निर्माण तथा ग्राभेल बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ। वर्षायामलाई ध्यानमा राख्दै हाल प्रयोग भइरहेको अस्थायी डाइभर्सनको विकल्पका रूपमा पुनर्निर्मित सडकमार्ग सञ्चालनमा ल्याउन लागिएको हो।
कार्यालय प्रमुख सुमन योगेशका अनुसार चारसयबेँसी, बोक्सीकुना, कालढुङ्गा र डालाबेँसी क्षेत्रका सडकखण्ड तयार भइसकेका छन्। अन्य स्थानका डाइभर्सनमा समस्या आए पनि सवारीसाधन पूर्ण रूपमा रोकिने अवस्था नरहने उनको भनाइ छ।
विसं २०८१ असोजमा आएको बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्याएको थियो। त्यसयता रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सन पटकपटक बाढीले बगाउँदा राजमार्ग अवरुद्ध हुँदै आएको थियो। अहिले भने सात मिटर उचाइसम्म सडक निर्माण गरी ग्राभेल बिछ्याउने काम भइरहेको छ। वर्षापछि सडकलाई थप उचाइमा पुर्याएर कालोपत्रे गरिने योजना छ।
कतिपय स्थानमा आरसिसी पर्खालको जग निर्माण सम्पन्न भइसकेको छ भने अन्य संरचनागत काम जारी छन्। निर्माण सम्पन्न भएका ट्र्याकमा ग्राभेल हालेर सवारीसाधन सञ्चालन गरिने सडक कार्यालयले जनाएको छ।
राजमार्गको बाँकी एक खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पुनर्निर्माण भइरहेको छ। उक्त खण्डमा माटो भर्ने र ठूला ढुङ्गा राख्ने काम भइरहेको छ।
पुनर्निर्माण सम्पन्न भएपछि विपी राजमार्गलाई दुई लेनमा स्तरोन्नति गरिने भएको छ। हालका पुलसँगै थप पुल निर्माण गरी पुलहरूलाई पनि दुई लेनको बनाइने योजना रहेको सडक कार्यालयले जनाएको छ। पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने तयारीसमेत गरिएको छ।
क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ। काभ्रेपलाञ्चोक र सिन्धुलीतर्फका सडकखण्ड पुनर्निर्माणका लागि सरकारले रु ८ अर्ब ५० करोडको स्रोत सुनिश्चित गरेको छ। त्यसमध्ये रु ७ अर्ब ५० करोड काभ्रेपलाञ्चोकतर्फका तीन खण्ड र रु एक अर्ब सिन्धुलीतर्फको एक खण्डका लागि विनियोजन गरिएको छ।
पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मार्गका रूपमा परिचित विपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो। १६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको निर्माण कार्य आर्थिक वर्ष २०५३/५४ मा शुरू भएको थियो भने २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।
