
काठमाडौं। मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो तथा भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायुसेवा सञ्चालक सङ्घ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार दुवै संस्थाले नेपालको उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य गर्ने भएका छन्। वायुसेवा सञ्चालक सङ्घ उड्डयन उद्योगको प्रमुख प्रतिनिधिमूलक संस्था हो भने एरोनटिकल सोसाइटी अफ नेपाल प्राविधिक ज्ञान, अनुसन्धान तथा व्यावसायिक विकासका क्षेत्रमा कार्यरत संस्था हो।
समझदारीपत्रअनुसार उड्डयन क्षेत्रको मानव संसाधन विकास, नेतृत्व प्रवर्द्धन, सञ्चालन, इन्जिनियरिङ, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन तथा नवीन प्रविधिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिनेछ।
त्यस्तै अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष जनशक्ति उत्पादन, विद्यार्थी तथा युवा पेसाकर्मीको क्षमता विकास तथा अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धनमा समेत सहकार्य गरिने उल्लेख छ।
उड्डयन क्षेत्रमा ‘सेफ्टी कल्चर’ विकास गर्ने, डिजिटलाइजेसन विस्तार गर्ने, डाटा एनालिटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उदियमान प्रविधिको प्रयोग बढाउने तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा ज्ञान र अनुभव आदानप्रदान गर्ने विषय पनि सम्झौतामा समेटिएको छ।
सङ्घका अध्यक्ष प्रतापजङ्ग पाण्डेका अनुसार उड्डयन क्षेत्रसँग सम्बन्धित सेमिनार, सम्मेलन तथा कार्यशालाहरूको संयुक्त आयोजना गरेर प्राविधिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

