Nepal Purbadhar

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापन चुनौती थपिँदै


मुस्ताङ। धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय फोहरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै फोहर व्यवस्थापनमा समस्या देखिन थालेको हो।

मुक्तिनाथ दर्शनका लागि आउने पर्यटकहरूले तोकिएका स्थानमा उचित ढङ्गले फोहर नफाल्दा वातावरणीय समस्या बढ्दै गएको स्थानीय तहले जनाएको छ। विशेषगरी पछिल्ला वर्षहरूमा भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको र उनीहरूको चहलपहलसँगै फोहरको मात्रा पनि बढेको घरपझोङ गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार भारतीय पर्यटकको बढ्दो आगमनसँगै मुक्तिनाथ क्षेत्र तथा आसपासका बस्तीहरूमा फोहर व्यवस्थापनमा थप दबाब परेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम कार्यालयका अनुसार मुक्तिनाथमा दैनिक करिब १० हजार भारतीय पर्यटक दर्शनका लागि आउने गरेका छन्। पर्यटक आगमन बढेसँगै राजमार्ग क्षेत्र, होटल तथा आसपासका क्षेत्रमा चहलपहल उत्साहजनक भए पनि वातावरणीय व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

दर्शनार्थीहरूले स्नान तथा भ्रमणका क्रममा जथाभावी फोहर फाल्ने, प्लास्टिकजन्य सामग्री अनियन्त्रित रूपमा फ्याँक्ने जस्ता गतिविधिका कारण धार्मिक तथा प्राकृतिक सौन्दर्यमा असर परेको स्थानीयले बताएका छन्।

स्थानीय तह र सरोकारवाला निकायहरूले पर्यटकलाई जिम्मेवार व्यवहार अपनाउन आग्रह गर्दै फोहर व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउन थप पहल आवश्यक रहेको बताएका छन्।


Read Previous

उड्डयन क्षेत्रलाई सुरक्षित र दिगो बनाउन दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर

Read Next

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन सुधारमा केन्द्रित बजेट- अर्थमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar