Nepal Purbadhar

स्रोत अभावबीच मधेस प्रदेशको ४१ अर्बको बजेट, पुँजीगत खर्चलाई प्राथमिकता


जनकपुरधाम। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै बजेट घोषणा गरेका हुन्।

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट चालु आर्थिक वर्ष २०८२/८३ को ४६ अर्ब ५८ करोड रुपैयाँको बजेटभन्दा करिब ५ अर्ब ४४ करोड रुपैयाँ अर्थात् झण्डै १३ प्रतिशतले कम हो। स्रोतको सीमितता र खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै बजेटको आकार घटाइएको प्रदेश सरकारको भनाइ छ।

कुल बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ अर्थात् ३५.६४ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगततर्फ २६ अर्ब ४७ करोड रुपैयाँ अर्थात् ६४.३६ प्रतिशत छुट्याइएको छ। विकास निर्माण र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चको हिस्सा बढाइएको सरकारले जनाएको छ।

अर्थमन्त्री भट्टराईका अनुसार बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। त्यसैगरी राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ तथा गत आर्थिक वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ परिचालन गरिनेछ।

प्रदेश सरकारले आगामी वर्षको बजेटमार्फत उत्पादन वृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण, पूर्वाधार विकास, स्वास्थ्य सेवाको विस्तार तथा सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। कृषि उत्पादन वृद्धि, सिंचाइ विस्तार, सडक तथा अन्य पूर्वाधार निर्माण, स्वास्थ्य संस्थाको सुदृढीकरण र सामाजिक सुरक्षा कार्यक्रमलाई बजेटले विशेष महत्व दिएको छ।

सरकारले प्रस्तुत बजेटले प्रदेशमा आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा समग्र आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। यद्यपि बजेटको आकार घटेको अवस्थामा विकास कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन र स्रोत व्यवस्थापन प्रदेश सरकारका लागि प्रमुख चुनौती रहने देखिएको छ।


Read Previous

नेप्से १२.२६ अंकले घट्यो, कारोबार ४.४१ अर्बमा सीमित

Read Next

चालु आर्थिक वर्षमा पुँजीगत खर्च कमजोर, ११ महिनामा ३२.५३ प्रतिशत मात्र कार्यान्वयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar