Nepal Purbadhar

कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड ९८ लाख, विकास खर्चमा जोड


विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४० अर्ब ४४ करोड ९८ लाखको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेको छ।

प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेका हुन्।

बजेटअनुसार चालुतर्फ रु १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ रु २० अर्ब ७५ करोड ९९ लाख, वित्तीय व्यवस्थातर्फ रु १५ करोड र वित्तीय हस्तान्तरणतर्फ रु ५ अर्ब ५६ करोड ३६ लाख विनियोजन गरिएको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले वृद्धि भएको मन्त्री लिङ्थेपले जानकारी दिए।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमा प्रदेश सरकारको आन्तरिक राजस्व, संघीय राजस्व बाँडफाँट तथा विभिन्न अनुदानहरू समावेश छन्।

आन्तरिक राजस्वबाट रु ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट रु १२ अर्ब ८७ करोड, वित्तीय समानीकरण अनुदानबाट रु ९ अर्ब १२ करोड, सशर्त अनुदानबाट रु ५ अर्ब ९५ करोड, समपूरक अनुदानबाट रु ८४ करोड, विशेष अनुदानबाट रु ४१ करोड र सोझै भुक्तानीमार्फत रु २० करोड स्रोत जुटाइने अनुमान गरिएको छ।

त्यस्तै, अपुग हुने रकममध्ये रु ५ अर्ब नगद मौज्दातबाट व्यवस्थापन गरिने सरकारको भनाइ छ।


Read Previous

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड

Read Next

विद्युत् प्रसारण आयोजनाबाट प्रभावित वन क्षेत्रमा क्षतिपूर्ति स्वरूप ४५० हेक्टरमा वृक्षरोपण गर्दै एमसीए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar