
काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले विवरण पेश गर्न तथा कर, शुल्क, दस्तुर, ब्याज र जरिबाना मिनाहासम्बन्धी सुविधा लिन पाउने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ।
यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार तीन महिना थप गरिएको हो।
व्यवस्थाअनुसार, सम्बन्धित कानूनले तोकेको समयभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना नबुझाएका कम्पनीले यो सुविधा लिन सक्नेछन्।
यस्ता कम्पनीले आफ्नो कारोबार निरन्तरता दिन वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ का लागि कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर बुझाउनुका साथै आवश्यक विवरण २०८३ पुस मसान्तभित्र पेश गर्नुपर्नेछ।
तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्ने कम्पनीको हकमा सोभन्दा अघिको अवधिमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था गरिएको छ।
म्याद थपसँगै विवरण अद्यावधिक गर्न, बाँकी दायित्व पूरा गर्न तथा कम्पनीको कारोबार निरन्तरता वा दर्ता खारेजीको प्रक्रिया अघि बढाउन कम्पनीलाई थप समय उपलब्ध भएको छ।


