
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको डिजिटल भुक्तानी बढाउन घरेलु ग्राहकलाई थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ दिने भएको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले पहिलो चरणमा ६ महिनासम्म अनलाइनबाट महसुल भुक्तानी गर्ने घरेलु ग्राहकलाई रिवार्ड दिने निर्णय गरेको हो। मिटर रिडिङ भएको दिनदेखि सात दिनभित्र महसुल तिर्दा पाइने २ प्रतिशत छुट भने यथावत् रहनेछ।
प्राधिकरणका अनुसार अनलाइनबाट जुनसुकै समयमा महसुल भुक्तानी गर्ने घरेलु ग्राहकले थप ०.५० प्रतिशत रिवार्ड पाउनेछन्। पहिलो चरणको योजनाको प्रभावकारिता मूल्यांकन गरेर आगामी निर्णय गरिनेछ।
प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कुल ५९ लाख २७ हजार ४४० ग्राहक रहेकामा करिब १२ लाख ५० हजार घरेलु ग्राहकले अनलाइनबाट महसुल तिरेका थिए। कुल ग्राहकमा घरेलु ग्राहकको हिस्सा करिब ९१ प्रतिशत छ।
प्राधिकरणले डिजिटल भुक्तानी बढाएर महसुल संकलनका काउन्टरमा हुने निर्भरता घटाउँदा प्रशासनिक खर्चसमेत कम गर्न सकिने निष्कर्ष निकालेको छ। हाल ६५५ ओटा महसुल संकलन काउन्टर सञ्चालनमा रहेकामा ३६७ ओटा काउन्टरबाटै काम सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ।
यसबाट २८८ ओटा काउन्टरको सञ्चालन खर्च बचत गर्न सकिने र वार्षिक करिब २६ करोड २९ लाख रुपैयाँ बचत हुने प्राधिकरणको अनुमान छ। डिजिटल भुक्तानी प्रवर्द्धनका लागि दिइने रिवार्डमा हुने खर्चलाई यस्तो बचतको तुलनामा व्यवस्थापनयोग्य रहेको प्राधिकरणको अध्ययनले देखाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा प्राधिकरणको सेवा ग्राहकको हातमा पुर्याउने अवधारणाअनुसार डिजिटल भुक्तानीलाई अघि बढाउनुपर्ने बताए। डिजिटल भुक्तानीले ग्राहकको समय र खर्च बचत गर्नुका साथै प्राधिकरणको प्रशासनिक भार घटाउन तथा नगद कारोबार कम गर्न सहयोग पुग्ने उनको भनाइ छ।


