Nepal Purbadhar

कर्णाली राजमार्गमा काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा


जुम्ला। सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम सम्पन्न नगर्ने ६ ओटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले कर्णाली राजमार्ग, नाग्म-गमगडी सडक तथा जुम्ला हुँदै मनाङ-मुस्ताङ जोड्ने सडक निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई कालोसूचीमा राखेको हो।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार आर्थिक वर्ष २०७५ देखि २०८० सम्म सडक निर्माणका लागि सम्झौता गरेका कम्पनीले समयमै काम सम्पन्न नगरेपछि कालोसूचीमा राख्न सिफारिस गरिएको थियो।

कालोसूचीमा पर्नेमा विनम्र निर्माण सेवा सुर्खेतलाई ३ वर्ष, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई २ वर्ष र अविनाश निर्माण सेवा छायानाथ, मुगुलाई १ वर्षका लागि राखिएको छ।

त्यसैगरी शङ्करमाली निर्माण सेवा काठमाडौं र मान शाही निर्माण सेवा कालिकोटलाई ३-३ वर्ष तथा कश्यप निर्माण सेवा काठमाडौंलाई २ वर्षका लागि कालोसूचीमा राखिएको सडक डिभिजन कार्यालयका सबइन्जिनियर वीरेन्द्र रावलले जानकारी दिए।

शङ्करमाली निर्माण सेवाले नाग्म-गमगडी सडक र कश्यप निर्माण सेवाले जुम्ला-मनाङ-मुस्ताङ सडक निर्माणको काम सम्झौताअनुसार सम्पन्न गर्न नसकेपछि कालोसूचीमा परेका हुन्। अन्य कम्पनीले कर्णाली राजमार्गअन्तर्गत कालिकोट क्षेत्रमा सडक निर्माण तथा स्तरोन्नतिको काम निर्धारित समयमा सम्पन्न नगरेको कार्यालयले जनाएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ अनुसार कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।


Read Previous

नारायणघाट-बुटवल सडकखण्डमा थप दुई ओटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिँदै

Read Next

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित, बागलुङको गलकोटमा ६३ घरमा क्षति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar