Nepal Purbadhar

हिमपहिरोमा सम्पर्कविहीनको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइयो


मनाङ। मनाङको हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएकाहरूको खोजी सोमबार बिहानैदेखि तीव्र पारिएको छ।

सम्भावित क्षेत्रमा हेलिकप्टरबाट खोजी गर्नुका साथै उद्धार टोली घटनास्थलमै पुगेर खोज तथा उद्धारमा जुटेको मनाङ प्रशासनले जनाएको छ।

हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको भनिए पनि यकिन संख्या अझै पुष्टि हुन सकेको छैन। प्रशासनले घटनाको विस्तृत विवरण संकलन गर्दै सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउने काम भइरहेको जनाएको छ।

आइतबार हिमपहिरोबाट उद्धार गरिएका दुई जनाको शव चामे ल्याइएको थियो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुवै शव काठमाडौं ल्याइएको छ।

दुवै शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको जनाइएको छ।

सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र सम्बन्धित उद्धार टोली परिचालन गरिएको प्रशासनले जनाएको छ। खराब मौसम तथा हिमाली क्षेत्रमा रहेको कठिन भौगोलिक अवस्थाका कारण खोजी तथा उद्धारमा चुनौती देखिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेटवार्ता, पुनर्निर्माणमा सहयोग गर्न आग्रह

Read Next

पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि पुनः चलायमान- तस्बिरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar