
सिन्धुपाल्चोक। जुगल गाउँपालिका-४ स्थित ठूलो कत्तिके र सानु कत्तिके जोड्ने पुल जीर्ण भएपछि स्थानीय र पर्यटकलाई आवतजावतमा समस्या भएको छ। च्याल्तचाम खोलामाथि २०७३ मा निर्माण गरिएको पुल भाँचिएर जोखिमपूर्ण बनेपछि स्थानीयलाई आउजाउमा सास्ती भएको हो।
यही पुल हुँदै पर्यटक जुगल हिमाल बेसक्याम्पसम्म पुग्ने गरेका छन्। पर्यटकीय सिजन सुरू भइसके पनि पुल जीर्ण भएकाले पर्यटकको आवतजावत प्रभावित हुने स्थानीयको चिन्ता छ। जुगल गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले जुगल भ्रमण वर्ष २०८३ घोषणा गरेको छ।
जीर्ण पुल मर्मत गर्न सम्भव नभएको प्राविधिक अध्ययनबाट देखिएकाले त्यसलाई हटाएर बेलिब्रिज निर्माण गर्ने स्थानीय पालिकाले जनाएको छ।
बेलिब्रिज निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरिसकेको छ। जुगल गाउँपालिकाले जुगल हिमाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउँदै आएको छ।


