
स्थानीय भन्छन् : ‘सानोतिनो बाढी पहिला पनि आउँथ्यो, हेर्न जान्थ्यौँ । सबै बगाउने गरी यस्तो आउँछ भन्ने सोचेकै थिएनौँ’
नुवाकोट। नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेका छन् । भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजार जोड्ने सडक क्षतविक्षत् छन् ।
सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा अहिले आफैंमा चुनौतीपूर्ण बनेको छ ।
नुवाकोट र रसुवालाई जोड्ने त्रिशूली नदी आसपासको महत्वपूर्ण संगमस्थल बेत्रावती पाँच दिनअघिसम्म मानिस र सवारीको चहलपहलले भरिएको व्यस्त बजार थियो । तर केही मिनेटमै आएको भीषण बाढीले यहाँको परिचित दृश्य पूर्ण रूपमा बदलिदिएको छ ।
जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा, माटो, बाढीले बगाएर ल्याएको गेग्य्रान र भग्नावशेष छन् । कतै आधा ढलेका संरचना देखिन्छन् भने कतै अन्यत्रबाट बगाएर ल्याइएका घरका सामान र संरचना थुप्रिएका छन् ।
‘बाढी आउँछ भन्ने थाहा थियो, यस्तो आउँछ भन्ने थाहा थिएन’

घटनाको चार दिनपछि वैकल्पिक बाटो हुँदै तीन घण्टाको कच्ची सडक यात्रा गरेर बेत्रावती बजार पुग्दा स्थानीय इन्द्रबहादुर मगर भेटिए । उनले बाढी आउनुअघिको बेत्रावती र अहिलेको अवस्थाको कथा सुनाए ।
उनका अनुसार बाढी आउँदैछ भन्ने जानकारी पाएपछि सुरक्षित स्थानमा भाग्न स्थानीयसँग चार–पाँच मिनेटभन्दा बढी समय थिएन ।
‘हामीलाई बाढी आउँदैछ भन्ने थाहा भएको जम्मा चार–पाँच मिनेटअघि मात्रै हो । यति ठूलो बाढी आउला भनेर कसैले सोचेको पनि थिएन,’ उनले भने ।
उनका अनुसार पुलको एकातर्फ मात्रै करिब १ सय २० देखि १ सय २५ घर थिए । पुलपारिको नयाँपुल क्षेत्रमा पनि करिब एक सय घर थिए । आसपासका अन्य बस्तीसमेत जोड्दा सयौँ घर प्रभावित भएका छन् ।

तर अहिले बेत्रावतीका बासिन्दाका लागि घर र सम्पत्तिको क्षतिभन्दा ठूलो चिन्ता आफ्ना मानिसको अवस्थाबारे छ ।
मगरका अनुसार बेत्रावतीका करिब आधा मानिस हराइरहेका छन् । ‘जनसंख्याको झन्डै ५० प्रतिशत मान्छे हराइरहेका छन्,’ उनले भने, ‘कसैको परिवारका दुई जना गए, कसैको तीन जना । कतिपय घरमा एक जना बाँचेका छन्, कतिपयको त कोही पनि बाँकी छैन ।’
बाढी आएको दिन मगर आफैं रसुवातिर थिए । उनको परिवार भने बेत्रावतीस्थित घरमा थियो ।
स्थानीय आनन्दलाल श्रेष्ठले मगरकी छोरी अनितालाई खोला आउँदै गरेको खबर दिएका थिए । खबर पाएलगत्तै अनिता घरबाट बाहिर निस्किइन् । उनको छोरा पनि उनीसँगै थिए । केही मिनेटको दौडले उनीहरूको ज्यान जोगियो ।
‘मेरी छोरी र नाति बाँचे । छिमेकीले खबर नगरेको भए के हुन्थ्यो थाहा छैन,’ श्रेष्ठले भने ।

स्थानीयका अनुसार सडक पार गर्न नपाउँदै बाढीले मानिसहरूलाई बगाएको थियो । घरभित्र रहेका, भाग्न खोजिरहेका र सुरक्षित स्थान खोजिरहेका धेरै मानिस एकैछिनमा भीषण भेलमा परे ।
इन्द्रबहादुरको आफ्नै घर पनि बाढीले बगायो । ‘अहिले म माथिको गाउँमा गएर बसेको छु । पहिले एउटा सानो एक कोठाको घर थियो । अहिले त्यहीँ बसिरहेका छौँ । यहाँ आएर हेर्दा पनि केही बाँकी छैन,’ उनले दुःख सुनाए ।
घटनापछि उनले परिवारलाई काठमाडौं पठाएका छन् । आफू भने बेत्रावतीमै छन् ।
‘१० वटा बंगुर छन् । दाना–पानी दिनुपर्छ भनेर फर्केर आउँछु,’ उनले भने, ‘परिवारलाई काठमाडौं पठाएँ । म फेरि दाना लिएर यहाँ आउँछु अनि फेरि बास बस्न माथि गाउँमै फर्किन्छु ।’

बाढी आउँदा हेर्न जाने ठाउँ बन्यो भग्नावशेष
बेत्रावती आसपासका बासिन्दा खोलाको बाढीसँग अपरिचित थिएनन् । सानातिना बाढी आउने भएकाले पहिले मानिसहरू पुलमा उभिएर नदीको बहाव हेर्थे ।
तर यसपटकको बाढीले वर्षौंदेखिको अनुभव र अनुमानलाई गलत साबित गरिदियो ।
‘खोला त पहिले पनि बढ्थ्यो । बाढी आयो भने हेर्न पनि जान्थ्यौँ । तर, यस्तो सबै बस्ती नै लैजाने गरी आउँछ भन्ने कसैले सोचेको थिएन,’ मगरले सम्झिए ।

शव खोज्न पनि चुनौती
बेत्रावतीमा अहिले प्रहरी र सुरक्षाकर्मीको प्रमुख काम बाढीले बगाएकाको खोजी तथा शव व्यवस्थापन बनेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट शव व्यवस्थापनका लागि प्रहरी वरिष्ठ उपरीक्षक विमलदास कँडेलको नेतृत्वमा टोली बेत्रावतीमा खटिएको छ । उनका अनुसार बेत्रावती क्षेत्रमा एकैदिन ६ ओटासम्म शव भेटिएका छन् ।
नजिकैको उत्तरगया विद्यालय क्षेत्रमा पनि थप ३ ओटा शव भेटिएको छ । प्रहरीले तीमध्ये एक जना विद्यालयका विद्यार्थी र दुई जना महिला रहेको जनाएको छ ।
शव सुरक्षित रूपमा बाहिर निकाल्नु प्रहरीका लागि चुनौती बनेको छ । बाढीले थुपारेको मलबा, दलदल र क्षतिग्रस्त भूगोलका कारण सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न तथा शव बाहिर निकाल्न कठिन भइरहेको छ ।
कतिपय स्थानमा सडकसमेत छैन । केही शव निकाल्न हेलिकप्टरको सहयोग लिनुपरेको छ ।
‘केही ठाउँमा हेलिकप्टर अवतरण गर्न पनि सकिँदैन । होभरिङ गरेर शव उठाउनुपर्ने अवस्था छ,’ कँडेलले भने ।

बस्ती छैन, बस्ने ठाउँ छैन
बेत्रावतीमा खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी आफैं पनि कठिन परिस्थितिमा काम गरिरहेका छन् । बाढी प्रभावित क्षेत्रमा बस्न मिल्ने घर एकाध मात्रै छन् । अधिकांश घरमा क्षति पुगेको छ भने धेरै स्थानीय सुरक्षित स्थानतर्फ गइसकेका छन् ।
खाना र बसोबासको समस्या पनि उत्तिकै छ । सामान्य लजिस्टिक सहयोगका लागि समेत जिल्ला सदरमुकाम विदुरसम्म पुग्न करिब तीन घण्टा लाग्छ । आउजाउमै करिब ६ घण्टा बित्ने भएकाले खोजी कार्यमा खटिएका टोलीका लागि आवश्यक सामग्री र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

ज्यान बच्यो, तर अभावै–अभाव
बाढीबाट जोगिएका धेरै परिवार अहिले माथिल्लो गाउँ, आफन्तको घर र काठमाडौंसम्म पुगेका छन् । तर सुरक्षित स्थानमा पुगेपछि पनि उनीहरूको समस्या सकिएको छैन ।
बाढीपीडितहरू पुगेका गाउँमा खानेकुराको अभाव हुन थालेको छ । स्थानीयसँग भएको चामल, पिठो र अन्य खाद्य सामग्री सकिन थालेको इन्द्रबहादुरले बताए ।
‘मान्छेहरू गाउँमा गएर बसेका छन् । पहिलेका गाउँलेलाई त पुग्थ्यो,’ उनले भने, ‘तर यतिका पीडितहरू गएपछि सबैलाई खुवाउनुपरेको छ । चामल र पिठो सकिन थालेको छ ।’
विद्युत् आपूर्ति नहुँदा समस्या झन् थपिएको छ । गाउँमा धान, मकै र अन्य खाद्यान्न भए पनि त्यसलाई प्रशोधन गरेर खान सक्ने अवस्था छैन ।
सरकारी राहत पर्याप्त रूपमा नपुगेको गुनासो पनि स्थानीयको छ । केही व्यक्तिगत संस्था, समुदाय र संगठनले राहत वितरण गरे पनि सबै प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको उनीहरूको भनाइ छ ।

नदीको बहाव घट्यो, पीडा घटेन
बेत्रावतीमा त्रिशूलीको बहाव घटिसकेको छ । तर पीडा घटेको छैन ।
कोही आफ्ना हराएका परिवारका सदस्यको खोजीमा छन् । कोही शव पहिचान हुने प्रतीक्षामा छन् । कतिपय परिवार अस्थायी बसोबासमा भोक र अभावसँग जुधिरहेका छन् ।
बगिसकेको बस्तीको बीचमा उभिएर इन्द्रबहादुर मगरसहित जीवनभर बेत्रावतीमा बिताएकाहरू भदौ १० को घटना अझै विश्वास गर्न सकिरहेका छैनन् ।
तर, आँखैअघि मच्चिएको प्रलय उनीहरूका लागि यथार्थ बनेको छ ।
जहाँ सयौँ घर थिए, बाक्लो बस्ती थियो, मानिस र सवारीको चहलपहल थियो, त्यही बेत्रावती बजारमा आज ढुंगा, माटो, गेग्य्रान र भग्नावशेष मात्रै बाँकी छन् ।





