Nepal Purbadhar

हिमतालको जोखिम घटाउन चीनसँग संयुक्त संयन्त्र बनाउन ८ दलको माग


काठमाडौं । भोटेकोशीलगायतका नदीमा आएको विनाशकारी बाढीपछि प्रमुख आठ राजनीतिक दलले नेपाल र चीनबीच सीमापार हिमतालको जोखिम अध्ययन तथा न्यूनीकरणका लागि तत्काल संयुक्त संयन्त्र बनाउन सरकारसँग माग गरेका छन्।

बिहीबार बसेको सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमा जलवायु परिवर्तनका कारण नेपाल र चीनको तिब्बत क्षेत्रमा रहेका हिमताल पग्लिने तथा विस्फोट हुने जोखिम बढेकाले दुवै देशको सहभागितामा संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र गठन गर्नुपर्ने उल्लेख गरिएको छ।

दलहरूले भविष्यमा हुनसक्ने ठूला विपद्को जोखिम घटाउन नेपालतर्फ रहेका जोखिमयुक्त हिमतालको नक्साङ्कनसँगै सीमापार क्षेत्रमा रहेका हिमतालको जोखिमसमेत वैज्ञानिक रूपमा आकलन गर्नुपर्ने बताएका छन्।

त्यस्तै, हिमताल तथा नदीमा आउने सम्भावित बाढीबाट तल्लो तटीय क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न नेपाल र चीनबीच पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा दलहरूले जोड दिएका छन्।

वक्तव्यमा पूर्वसूचना प्रणालीअन्तर्गतको ‘रियल टाइम डाटा’ आदानप्रदानलाई सुदृढ र संस्थागत गर्न सरकारलाई सुझाव दिइएको छ।

संयुक्त वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका चन्दन सिंहले हस्ताक्षर गरेका छन्।


Read Previous

रसुवा बाढी प्रभावितका लागि कुमारी बैंकले दियो ३ करोड नगद

Read Next

भरतपुर अस्पतालमा फोटो बोकेर शवको पर्खाइमा आफन्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar