
फाईल तस्बीर।
काठमाडौं । तिब्बततर्फबाट रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएका २६ जनालाई बिहीबार बिहानसम्म त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको छ। तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार मृत्यु हुनेमा २५ वर्षीय पुरुष रहेका छन्। उपचारका लागि ल्याइएका अन्य घाइतेमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट थप ५० देखि ६० जना घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल ल्याउन सकिने तथा सम्भावित बिरामीको चापलाई ध्यानमा राख्दै अस्पतालले आवश्यक तयारी पूरा गरेको छ।
तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरण जारी रहँदा घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा ल्याउने क्रम पनि जारी छ।
बाढीपछि सम्पर्कविहीन भएकाको खोजी भइरहेको छ। आफन्तहरू समेत आफ्ना परिवारका सदस्यको अवस्था बुझ्न अस्पताल पुगिरहेका छन्।

