
तानसेन (पाल्पा)। पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि निर्माणाधीन ‘सिग्नेचर व्रिज’को निर्माण अन्तिम चरणमा पुगेको छ। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण भइरहेको पुलको करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ।
पुल सेक्टर पोखराका आयोजना प्रमुख कृष्णराज अधिकारीका अनुसार विसं २०२८ मा निर्माण गरिएको स्टिल ट्रस पुल जीर्ण बन्दै गएपछि त्यसको विकल्पका रूपमा आधुनिक प्रविधिको नयाँ ‘सिग्नेचर व्रिज’ निर्माण भइरहेको हो।
हाल सञ्चालनमा रहेको ९३ मिटर लामो स्टिल ट्रस पुलभन्दा केही तल १२३ मिटर लामो नयाँ पुल निर्माण भइरहेको छ। पुलमा पैदलयात्रुका लागि फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ भने ४० टनसम्मका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी निर्माण भइरहेको छ।
सडक विभागअन्तर्गत पुल महाशाखाको सर्वेक्षणपछि शुरू गरिएको यो पुल ‘सीएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिमा निर्माण भइरहेको हो।
हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग २०७९ असार ३० गते २०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। करिब २७ करोड ७१ लाख ९ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको प्रारम्भिक लम्बाइ १२० मिटर तय गरिए पनि पछि तीन मिटर थप गरी १२३ मिटर बनाइएको आयोजना प्रमुख अधिकारीले बताए।
हालको पुलमा ठूला भारवहन क्षमताका सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो, जसका कारण मालसामान ढुवानी प्रभावित हुने गरेको थियो। नयाँ पुल निर्माण अन्तिम चरणमा पुगेपछि ढुवानी व्यवसायी, उद्योगी, व्यापारी तथा उपभोक्तामा उत्साह थपिएको छ।
व्यापारिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने राम्दी क्षेत्रमा नयाँ पुल सञ्चालनमा आएपछि यातायात सेवा थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
