
काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको नयाँ मर्यादाक्रम स्वीकृत गरेका हुन् ।
राष्ट्रपति कार्यालयले बिहीबार (मंसिर १० गते) सार्वजनिक गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रममा हेरफेर गरिएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम संशोधन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री बालेन्द्र शाह पहिलो स्थानमा छन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा रहेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतम तेस्रो र परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा छन् ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ पाँचौँ स्थानमा छन् । यसैगरी गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा रहेका छन् ।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी नवौँ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल दसौँ स्थानमा छन् ।
यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता एघारौँ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल बाह्रौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल तेह्रौँ, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना चौधौँ स्थानमा छन् ।
त्यस्तै, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी पन्ध्रौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह सोह्रौँ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव सत्रौँ स्थानमा रहेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्रिपरिषद्का १७ सदस्यको नयाँ मर्यादाक्रम उल्लेख गरिएको छ ।




