
चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न हुने सम्भावना न्यून देखिएको छ। ठेक्का सम्झौताको म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको करिब ४८ देखि ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ।
भरतपुर महानगरपालिकाले २०८१ असारमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित हिमालयन कालिञ्चोक–बीबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार रङ्गशाला २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।

मैदान निर्माणको काम पनि शुरू भइसकेको छ। मैदानमा पाँचवटा क्रिकेट पिच निर्माण गर्ने तयारी भइरहेको छ। साथै पहुँचमार्ग, भूमिगत विद्युत् केबल, प्लम्बिङ तथा अन्य आवश्यक पूर्वाधार निर्माणका काम पनि समानान्तर रूपमा अघि बढिरहेका छन्।

निर्माण कार्यलाई निरन्तरता दिन भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। नगरसभाको १९औँ अधिवेशनले रङ्गशालाको बाँकी निर्माण सम्पन्न गर्न सङ्घीय सरकार र बागमती प्रदेश सरकारसँग सहकार्यलाई निरन्तरता दिने नीति पनि अघि सारेको छ।
यसैबीच, महानगरपालिकाले महानगर क्रिकेट कप र फुटबल लिगलगायत खेलकुद गतिविधि सञ्चालनका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

