Nepal Purbadhar

पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोड बढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर


काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।


सार्वजनिक पदको दुरुपयोग गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले तिवारीविरुद्ध बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत तथा कैद सजायको माग गरेको छ। सम्पत्ति जफत प्रयोजनका लागि उनकी पत्नी मीनादेवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाइएको छ।
तिवारी सरकारी सेवाबाट अवकाश लिएपछि काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नियुक्त भएका थिए।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तिवारी दम्पतीले पारिश्रमिक, अन्य आय तथा जग्गा बिक्रीबाट १४ करोड ५१ लाख ९१ हजार ३ सय ५६ रुपैयाँ वैधानिक आम्दानी गरेको देखिएको छ। तर बैंक खाता, घरजग्गा तथा अन्य सम्पत्तिको विवरण जाँच गर्दा उनीहरूको कुल सम्पत्ति २५ करोड ६ लाख ८७ हजार २ सय २७ रुपैयाँ पुगेको पाइएको छ।


अख्तियारले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जित सम्पत्ति पत्नी र छोरीको नाममा समेत राखिएको निष्कर्ष निकालेको जनाएको छ।


Read Previous

डेडिकेटेड ट्रंकलाइन विवाद: प्राधिकरणले उद्योगीलाई बक्यौता तिर भन्दै पठायो पत्र, लाइन काट्न माग्यो ऊर्जामन्त्रीको सहमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar