
काठमाडौं। सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधार गर्न दुई मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच भएको छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, औषधिको गुणस्तर सुधार तथा उत्पादनको निर्यात सम्भावनाबारे विचारविमर्श भएको हो।
छलफलमा वैद्यखानाको उत्पादन प्रणालीलाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का मापदण्डअनुरूप स्तरोन्नति गर्ने विषयलाई प्राथमिकता दिइएको थियो। उत्पादन प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै संस्थागत क्षमता विकास गर्न दुवै मन्त्रालयले सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ।
यसका लागि दुई मन्त्रालयबीच समझदारीपत्र (एमओयू) गर्ने प्रस्तावसमेत अघि बढाइएको छ।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दीनानाथ मिश्रको पनि सहभागिता थियो।

