Nepal Purbadhar

कात्तिक १३ र १४ गते भारी वर्षा हुन सक्ने, विद्युत् प्राधिकरणले कर्मचारीलाई राख्यो तयारी अवस्थामा


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी कात्तिक १३ र १४ गते देशका विभिन्न भागमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणले मौसम पूर्वानुमान महाशाखाबाट कात्तिक ९ गते जारी विशेष मौसमी बुलेटिनलाई उद्धृत गर्दै विशेषगरी कात्तिक १२ गतेदेखि सुरु भई १३ र १४ गतेसम्म देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको हो।

प्राधिकरणका अनुसार सामुद्रिक क्षेत्रमा विकसित शक्तिशाली चक्रवातका रूपमा रहेको मौसमी वायु प्रणाली नेपाल प्रवेश गरी विभिन्न स्थानमा वर्षा, हिमपात, बाढी, पहिरो, चट्याङ, हुरीबतास र डुबानको जोखिम निम्त्याउन सक्ने सम्भावना छ। यस्तो अवस्थामा विशेष सतर्कता अपनाउन प्राधिकरणले सबैमा अपिल गरेको छ।

सम्भावित प्रतिकूल मौसमका कारण विद्युत् संरचनामा क्षति पुग्न सक्ने र विद्युत् सेवा अवरुद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले आवश्यक तयारी गरेको जनाएको छ। विद्युत् सेवा अवरुद्ध भएमा यथाशीघ्र मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जानकारी दिएको छ।

त्यस्तै, प्रतिकूल मौसमबाट उत्पन्न हुन सक्ने जोखिमको आकलन गरी सुरक्षित स्थानमा रहन, आकस्मिक अवस्थामा बाहेक आवतजावत नगर्न र सावधानीपूर्वक विद्युतीय उपकरण प्रयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ। आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न तथा सोहीअनुसार आवश्यक कामकारबाही गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।

विद्युत् अवरुद्ध भएमा वा विद्युत् संरचनामा क्षति पुगेमा सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कको हटलाइन नम्बर ११५० मा सम्पर्क गरी जानकारी दिन प्राधिकरणले उपभोक्तालाई अनुरोध गरेको छ। नो-लाइटसम्बन्धी जानकारीका लागि प्राधिकरणको वेबसाइट https://nea.org.np/nolights मा जान सकिनेछ।

प्राधिकरणले दिनदुःखका बाबजुद पनि सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन सबै उपभोक्तालाई विशेष आग्रह गरेको छ।


Read Previous

टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा आयोजना हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar