Nepal Purbadhar

चिया क्षेत्रको समस्या अध्ययन प्रतिवेदन तयार, भारतीय अवरोध हटाउने र तेस्रो मुलुकमा बजार खोज्न सुझाव


काठमाडौं। नेपाली चिया निर्यातमा देखिएका समस्या समाधान तथा दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ। मन्त्रालयका अनुसार सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यदलले मात्र दुई सातामै अध्ययन सम्पन्न गरी प्रतिवेदन पेश गरेको हो।

कार्यदलले विशेषगरी नेपाली चियाको प्रमुख निर्यात बजार भारतले हालै लागू गरेको नयाँ गुणस्तर परीक्षण व्यवस्थाबाट उत्पन्न समस्या समाधान गर्न तत्काल कूटनीतिक तथा प्राविधिक पहल गर्नुपर्ने सुझाव दिएको छ। साथै, भारतमाथिको अत्यधिक निर्भरता घटाउँदै तेस्रो मुलुकमा नेपाली चियाको बजार विस्तार गर्न दीर्घकालीन रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले चिया क्षेत्र नेपालको महत्वपूर्ण निर्यातमुखी कृषि उद्योग भएकाले यस क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। उनले कार्यदलका सुझावलाई प्राथमिकताका साथ अध्ययन गरी आवश्यक नीतिगत निर्णय र कार्यान्वयन अघि बढाइने जानकारी दिइन्।

भारतको नयाँ व्यवस्थाले निर्यात प्रभावित

कार्यदलको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालका २० हजार ६०२ हेक्टर क्षेत्रफलमा गरिएको चिया खेतीबाट २ करोड ६१ लाख किलोग्रामभन्दा बढी तयारी चिया उत्पादन भएको थियो। सोमध्ये १५ हजार ५९९ मेट्रिक टन चिया, करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको, निर्यात भएको थियो। कुल निर्यातमध्ये ८६.७७ प्रतिशत हिस्सा भारततर्फ गएको तथ्यांकले नेपाली चिया निर्यात भारतीय बजारमा अत्यधिक निर्भर रहेको देखाएको छ।

तर, भारतको टी बोर्डले १ मे २०२६ देखि लागू गरेको अनिवार्य गुणस्तर परीक्षणसम्बन्धी नयाँ कार्यविधि (एसओपी) तथा भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) को परिपत्रपछि नेपाली चिया निर्यातमा उल्लेखनीय अवरोध सिर्जना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कार्यदलका अनुसार प्रयोगशाला परीक्षणमा हुने ढिलाइ, उच्च परीक्षण शुल्क, सीमामा लामो समयसम्म रोकावट तथा प्रशासनिक जटिलताले चिया उद्योग, निर्यातकर्ता, साना किसान र श्रमिक प्रत्यक्ष प्रभावित भएका छन्। यसले उत्पादनदेखि निर्यातसम्मको सम्पूर्ण आपूर्ति शृङ्खलामा असर पुर्‍याएको प्रतिवेदनले औंल्याएको छ।

तत्काल र दीर्घकालीन उपायको सिफारिस

कार्यदलले भारतसँग कूटनीतिक तथा प्राविधिक संवादमार्फत देखिएका अवरोध हटाउने, गुणस्तर परीक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ गर्ने तथा नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमता बढाउने सुझाव दिएको छ।

त्यस्तै, भारतमा मात्र निर्भर रहने अवस्था अन्त्य गर्न युरोप, अमेरिका, मध्यपूर्व, चीन, जापान तथा अन्य सम्भावित बजारमा नेपाली चियाको पहुँच विस्तार गर्न विशेष रणनीति तयार गर्नुपर्नेमा जोड दिइएको छ। साथै, ब्रान्डिङ, गुणस्तर प्रमाणीकरण, मूल्य अभिवृद्धि, बजार प्रवर्द्धन र निर्यात विविधीकरणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समावेश गरिएको छ।

मन्त्रालयले कार्यदलका सिफारिसका आधारमा चिया क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, निर्यात प्रवर्द्धन तथा किसान र उद्योगीको हित संरक्षणका लागि आवश्यक नीतिगत निर्णय अघि बढाउने जनाएको छ।


Read Previous

मन्त्री यादवले भटिन विदेशी, यूएई र चीनसँग कृषि, पूर्वाधार, प्रविधि र व्यापार विस्तारबारे छलफल

Read Next

नेपाल-अमेरिका ऊर्जा सहकार्य विस्तारबारे ऊर्जा मन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar