
काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी भित्र्याउने अभियानलाई तीव्रता दिएको छ। पछिल्ला केही दिनमा संयुक्त अरब इमिरेट्स (यूएई) र चीनका उच्च सरकारी प्रतिनिधिसँग भएका छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्तामा नेपालमा लगानी विस्तार, द्विपक्षीय व्यापार प्रवर्द्धन तथा औद्योगिक सहकार्यलाई नयाँ चरणमा लैजाने विषयमा सकारात्मक छलफल भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसँग सिंहदरबारमा भएको शिष्टाचार भेटमा यूएईका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीले नेपालको नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै आफ्नो देश नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न पूर्ण रूपमा तयार रहेको बताए। उनले लगानीको वातावरणलाई थप सहज र पूर्वानुमानयोग्य बनाउन आवश्यक सहजीकरणका लागि नेपाल सरकारसँग आग्रह गरे।
कृषि, रेल र हरित डाटा सेन्टरमा यूएईको विशेष चासो
भेटका क्रममा यूएई पक्षले नेपालको कृषि क्षेत्रमा विशेष लगानी गर्न चाहेको जनाएको छ। कृषि उत्पादन, प्रशोधन तथा मूल्य शृङ्खला विकासका परियोजनामा लगानी गर्न आवश्यक वातावरण निर्माण गरिदिन मन्त्री यादवसँग आग्रह गरिएको थियो।
युएईबाट आएको प्रतिनिधिमण्डलले नेपालको रेलवे क्षेत्रमा निजी क्षेत्रबाट लगानी गर्ने इच्छा व्यक्त गर्दै कानुनी तथा नीतिगत सहजताको अपेक्षा पनि राख्यो।
सूचना प्रविधि क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै यूएईले नेपालमा हरित (ग्रीन) डाटा सेन्टर स्थापना गर्ने योजना रहेको जानकारी दिएको छ। प्रतिनिधिमण्डलले आवश्यक लगानी र प्रविधि हस्तान्तरणमार्फत नेपाललाई क्षेत्रीय डिजिटल पूर्वाधार केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राखेको थियो।
कृषि निर्यात र गुणस्तर प्रमाणीकरणमा सहकार्य
दुवै पक्षबीच नेपालमा उत्पादन हुने फलफूल, तरकारी तथा अन्य कृषि उपजलाई यूएई बजारमा निर्यात गर्ने विषयमा पनि छलफल भएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन खाद्य गुणस्तर परीक्षण, प्रमाणीकरण (स्ट्यान्डर्डाइजेसन) तथा प्राविधिक पूर्वाधार विकासमा यूएईले सहयोग गर्न सकारात्मक रहेको जनाएको छ।
भेटका क्रममा मन्त्री यादवले नेपाल–यूएई बिजनेस फोरमलाई थप सक्रिय र प्रभावकारी बनाउन प्रस्ताव राखेकी थिइन्। यूएई पक्षले त्यसलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा थप ठोस सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएको छ।
मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले उडान सञ्चालन गर्ने तयारी गरेकोमा यूएई सरकारप्रति धन्यवाद पनि व्यक्त गरिन्।
चीनसँग व्यापार र औद्योगिक सहकार्य विस्तार
यसअघि उद्योगमन्त्री यादवले चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री यान दोङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग पनि भेटवार्ता गरेकी थिइन्। भेटमा नेपाल–चीन आर्थिक साझेदारी, व्यापार विस्तार, औद्योगिक विकास तथा लगानी प्रवर्द्धनलाई थप परिणाममुखी बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ।
मन्त्री यादवले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक विकासमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उत्पादनमूलक उद्योग, पूर्वाधार, सीमापार व्यापार, आपूर्ति शृङ्खला तथा औद्योगिक क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखिन्।
उनले नेपालले पछिल्ला वर्षहरूमा लगानीमैत्री वातावरण निर्माण, कानुनी सुधार तथा औद्योगिक विकासका क्षेत्रमा गरेको प्रगतिबारे जानकारी दिँदै चिनियाँ लगानी अझ बढ्ने विश्वास व्यक्त गरिन्।
चीनको प्रतिबद्धता : पूर्वाधार, व्यापार मेला र निर्यात प्रवर्द्धन
चीनका उपमन्त्री यान दोङले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चीन प्रतिबद्ध रहेको बताए। उनले तातोपानी र रसुवागढी नाकाको व्यापारिक पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सहयोग जारी रहने उल्लेख गरे।
उनले नेपाललाई चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेला तथा एक्स्पोहरूमा सहभागी गराउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै नेपाली चिया, जडीबुटी तथा अन्य सम्भावित निर्यातयोग्य वस्तुको संयुक्त अध्ययन गर्न सकिने प्रस्ताव पनि राखे।
यान दोङले सन् १९७८ पछि चीनले अपनाएको खुला आर्थिक नीति, वैदेशिक लगानी आकर्षित गर्न दिइएका कर सहुलियत, प्रशासनिक सहजीकरण तथा व्यावसायिक वातावरण सुधारका अनुभव नेपालका लागि उपयोगी हुन सक्ने उल्लेख गर्दै आर्थिक सुधारका लागि एकीकृत नीतिगत दृष्टिकोण आवश्यक रहेको सुझाव दिए।
एकद्वार सेवा प्रणालीमार्फत लगानी बढाउने अपेक्षा
चिनियाँ उपमन्त्रीले चीन नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) गर्ने प्रमुख मुलुकमध्ये एक भएको उल्लेख गर्दै एकद्वार सेवा प्रणालीमार्फत थप पारदर्शी, सहज र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सके नेपालमा चिनियाँ लगानी उल्लेखनीय रूपमा बढ्ने विश्वास व्यक्त गरे।
दुवै भेटवार्ताले नेपालले कृषि, सूचना प्रविधि, पूर्वाधार, रेल, उद्योग तथा व्यापारका क्षेत्रमा रणनीतिक साझेदार मुलुकसँग आर्थिक कूटनीति सुदृढ गर्दै विदेशी लगानी आकर्षित गर्ने प्रयासलाई तीव्र बनाएको संकेत गरेको छ।
