
जुम्ला। वर्षौंदेखि अलपत्र अवस्थामा रहेका कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का रद्द गर्ने प्रक्रिया शुरू गरिएको छ। जुम्लास्थित सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कालिकोट, जुम्ला र मुगु जिल्लामा सञ्चालित ती ठेक्का सम्झौता अन्त्य गर्न १५ दिने सूचना प्रकाशित गरेको हो।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म विभिन्न समयमा सम्झौता भएका १६ वटा ठेक्कामध्ये कालिकोटका १२, जुम्लाका तीन र मुगुको एक आयोजना निर्माण व्यवसायीले समयमै सम्पन्न नगरेकाले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो।
कार्यालयका प्रमुख श्रवणकुमार महतराले पटक–पटक लिखित तथा मौखिक रूपमा काम सम्पन्न गर्न आग्रह गर्दासमेत निर्माण व्यवसायीले कुनै चासो नदेखाएकाले सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम ठेक्का सम्झौता अन्त्य गर्न लागिएको बताए।
उनका अनुसार ठेक्का रद्दसँगै सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत तथा धरौटी रकम जफत गर्ने, पेस्की जमानत र पेस्की रकममा १० प्रतिशत ब्याज असुल गर्ने तथा बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया पनि अघि बढाइनेछ।
सडक डिभिजन कार्यालयले ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो कदम चालिएको जनाएको छ।
यसअघि पनि कर्णाली राजमार्गअन्तर्गतका १० वटा रुग्ण आयोजनाको ठेक्का रद्द गरिसकिएको कार्यालयले जनाएको छ।
