Nepal Purbadhar

काठमाडौँ उपत्यका सहित देशभर बर्डफ्लु संक्रमण बढ्दो, ११ जिल्लाका ८२ स्थान प्रभावित


काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बर्डफ्लु (एच–फाइभ एन–वान) संक्रमण फैलिँदै गएको छ। पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष निगरानी र नियन्त्रण अभियान सञ्चालन गरिएको छ।

विभागका अनुसार विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएको थियो। त्यसयता संक्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको हो।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट गरिएको छ। साथै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४ दशमलव ८५ क्विन्टल दाना पनि नष्ट गरिएको छ।

रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको जनाएको छ।

विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा र सुनसरीसँगै बारा, महोत्तरी, चितवन तथा नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा संक्रमण अझै देखिएकाले निगरानी थप कडा बनाइएको छ।

संक्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन (म्युटेसन) भएको छ वा छैन भन्ने पुष्टि गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जिन अनुक्रमण (जिन सिक्वेन्सिङ) प्रक्रिया पनि शुरू गरिएको विभागले जनाएको छ।

विभागले कुखुरापालक तथा अन्य पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसङ्क्रमण गरेर मात्र फार्ममा प्रवेश गराउन तथा जङ्गली र घरपालुवा पन्छीबीचको सम्पर्क रोक्न आग्रह गरेको छ।

यस्तै, पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन र कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ।


Read Previous

जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ-फोटो फिचर्स्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar