Nepal Purbadhar

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो


काठमाडौं। स्वास्थ्य बिमा दाबी भुक्तानीअन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकी बक्यौता भुक्तानीलाई प्राथमिकतामा राख्दै नियमित निकासा प्रक्रिया तीव्र बनाएको जनाएको छ। मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री निशा मेहताले स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गतका बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्न निर्देशन दिएकी छन्।

मन्त्रालयका अनुसार मिति २०८३ जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। त्यसैगरी जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो भने जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।

सरकारले विगत आर्थिक वर्षदेखि बाँकी रहेका स्वास्थ्य बिमा दाबी तथा विपन्न नागरिक उपचारसम्बन्धी रकम भुक्तानीलाई प्राथमिकतामा राख्दै स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रिया तीव्र बनाएको जनाएको छ।

स्वास्थ्य बिमा बोर्डका अनुसार सेवा प्रदायक संस्थाहरूको बक्यौता क्रमशः भुक्तानी गर्दै स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको विश्वास बढाउने तथा स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।


Read Previous

सातै प्रदेशको बजेट सार्वजनिक: कुल २ खर्बभन्दा बढीको बजेटमा पूर्वाधार, स्वास्थ्य र रोजगारी मुख्य प्राथमिकतामा

Read Next

करछलि आशंकामा नियन्त्रणमा रहेका ‘बीवाइडी’ गाडी फुकुवा, ७७५ युनिट गन्तव्यतर्फ पठाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar