काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित नवनिर्मित यामाबुद्ध स्केट पार्कमा आज ९औँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सम्पन्न भएको छ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ (एनएसएसए) को आयोजनामा भएको प्रतियोगितामा देशभरका सयौँ स्केटबोर्ड खेलाडीहरूको सहभागिता रहेको थियो। नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहित निर्माण गरिएको यामाबुद्ध स्केट पार्कमा आयोजित प्रतियोगिताले नेपाली स्केटबोर्डिङ खेलको विकासमा नयाँ आयाम थपेको आयोजकले जनाएको छ।

प्रतियोगितामा सिनियर पुरुष, जुनियर पुरुष तथा महिला (ओपन) विधाका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। खेलाडीहरूले ‘बेस्ट रन’ र ‘बेस्ट ट्रिक’ विधामार्फत आफ्नो क्षमता र कौशल प्रदर्शन गरेका थिए।
प्रतियोगितास्थलमा स्केटबोर्ड खेलप्रति युवापुस्ताको बढ्दो आकर्षण स्पष्ट देखिएको थियो। खेलाडीहरूले विभिन्न चुनौतीपूर्ण ट्रिक्स र आकर्षक प्रस्तुति दिँदै दर्शकहरूको ध्यान खिचेका थिए। पार्कमा रहेका रेल, लेज, क्वार्टर पाइप तथा अन्य अवरोधहरूमा प्रस्तुत गरिएका उत्कृष्ट ट्रिक्सले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो।

आयोजकका अनुसार प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्नुका साथै नेपालमा स्केटबोर्डिङ संस्कृतिको विस्तार, खेलप्रतिको आकर्षण वृद्धि र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। यामाबुद्ध स्केट पार्कमा सम्पन्न यस प्रतियोगितालाई नेपाली स्केटबोर्डिङ समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।








तस्बिरहरू :नेपाल फोटो लाइब्रेरी।

