Nepal Purbadhar

जेन-जी शहीद स्मारक पार्क निर्माण अलपत्र


काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा निर्माण गर्न लागिएको जेन–जी शहीद स्मारक पार्कको काम अलपत्र परेको छ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण शुरू गरिएको उक्त परियोजनाको काम केही समययता ठप्प बनेको छ। आन्दोलनमा ज्यान गुमाएका ४५ शहीदमध्ये ४२ जनाको शालिक स्थापना गर्ने योजना अनुसार पार्क निर्माण अघि बढाइएको थियो।

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२४औँ बोर्ड बैठकले स्मारक निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि परियोजनाले औपचारिक रूप पाएको थियो। त्यसपछि निर्माण प्रक्रिया शुरू भए पनि हाल काम रोकिएको अवस्थामा पुगेको छ।

जेन–जी आन्दोलनका शहीदहरूको योगदानलाई संस्थागत रूपमा स्मरण गर्ने तथा भावी पुस्तालाई आन्दोलनको इतिहासबारे जानकारी गराउने उद्देश्यले स्मारक पार्क निर्माणको अवधारणा अघि सारिएको थियो। परियोजनाअन्तर्गत शहीदहरूको शालिक, स्मृति स्थल तथा उनीहरूको योगदान झल्काउने विभिन्न संरचना निर्माण गर्ने योजना रहेको छ।

स्मारकलाई नेपाली मौलिकता र ऐतिहासिक महत्व झल्किने शैलीमा विकास गर्ने लक्ष्य राखिएको भए पनि निर्माण कार्य रोकिँदा परियोजनाको भविष्य अन्योलमा परेको देखिन्छ। सम्बन्धित निकायबाट काम पुनः अघि बढाउने विषयमा स्पष्ट जानकारी नआएकाले शहीदहरूको सम्झनामा निर्माण हुन लागेको महत्त्वपूर्ण परियोजना अधुरै रहने चिन्ता बढेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने

Read Next

यामाबुद्ध स्केट पार्कमा ९औँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar