Nepal Purbadhar

सेती पुलको निरीक्षण गर्दै मन्त्री लम्सालको निर्देशन: फागुनभित्रै निर्माण सम्पन्न गर्नू

गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको निरीक्षण गर्दै।


काठमाडौं। गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पोखराको पृथ्वीचोकस्थित सेती नदीमाथि निर्माणाधीन सेती पुलको निरीक्षण गर्दै तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्।

आइतबार पुलस्थलको निरीक्षणका क्रममा मन्त्री लम्सालले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, आयोजना प्रमुख, निर्माण कम्पनी तथा परामर्शदातासँग छलफल गर्दै निर्माणमा ढिलाइ हुन नदिन र देखिएका समस्या तत्काल समाधान गरेर काम अघि बढाउन आग्रह गरे।

उनले पछिल्लो पटक थप गरिएको म्यादभित्र अर्थात् आगामी फागुन २१ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिँदै पूर्वाधार आयोजनामा ढिलासुस्ती स्वीकार्य नहुने बताए।

“काममा कुनै समस्या भए जानकारी गराउनुहोस्। पूर्वाधार निर्माण तोकिएको समयमै सकिनुपर्छ, अब थप ढिलाइ हुनुहुँदैन,” मन्त्री लम्सालले भने।

निरीक्षणका क्रममा मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख कृष्णबहादुर कुँवरले पुल निर्माणको प्रगति र आयोजनामा देखिएका समस्याबारे जानकारी गराएका थिए।

उनका अनुसार सेती नदीको उत्तरतर्फका केही जग्गाधनी तथा व्यवसायीलाई सडक पहुँच सुनिश्चित गर्न एसियाली विकास बैंक (एडीबी) को नीतिअनुसार दुईवटा घर हटाउनुपरेको थियो। त्यसको क्षतिपूर्ति सम्बन्धी सहमति जुटाउन समय लागेकाले आयोजना प्रभावित भएको उनले बताए।

कुँवरले क्षतिपूर्ति सम्बन्धी विषय प्रशासनमार्फत टुंगो लागिसकेको र अब निर्माण कार्यले गति लिने जानकारी दिए। उनका अनुसार हालसम्म पुलको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५५ प्रतिशत पुगेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलसमेत सहभागी रहेको निरीक्षण कार्यक्रममा आयोजनाको समग्र अवस्थाबारे समीक्षा गरिएको थियो।

२०७९ साउन २६ गतेदेखि निर्माण सुरु भएको सेती पुलको कुल लागत १ अर्ब ७ करोड रुपैयाँ रहेको छ। पुल मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको महत्वपूर्ण संरचनामध्ये एक मानिन्छ।


Read Previous

विद्युत प्राधिकरणलाई विभाजन गर्ने प्रस्ताव फिर्ता लिन कर्मचारी संगठनहरूको माग

Read Next

झापा इनर्जी प्लान्टमा आगलागी, करिब ६ करोड रुपैयाँको क्षति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar