
काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको बाह्य आर्थिक सूचकमा सुधार देखिए पनि बजारमा मूल्यवृद्धिको दबाब बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर ४३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा वस्तु निर्यातमा ६१.९ प्रतिशतको वृद्धि देखिए पनि आयात बढ्दा व्यापार घाटा ३२४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार देशको शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। विदेशी मुद्रा सञ्चिति पनि बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। तर, वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति भने बढेर ६.३४ प्रतिशत पुगेको छ।
रेमिट्यान्स ४३६ अर्ब, विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर ४३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २२१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिसँगै देशको बाह्य क्षेत्रको अवस्था थप मजबुत देखिएको छ। समीक्षा अवधिमा चालु खाता १६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता बचत १३० अर्ब ९७ करोड रुपैयाँ थियो।
त्यस्तै, शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १५३ अर्ब ६८ करोड रुपैयाँ थियो।
२०८३ भदौ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २६ अर्ब ४८ करोड रहेको छ। हाल कायम विदेशी विनिमय सञ्चितिले १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

निर्यातमा ६१.९ प्रतिशतको वृद्धि, आयात पनि तीव्र
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको कुल वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात वृद्धिदर ८८.६ प्रतिशत थियो।
गन्तव्यका आधारमा भारततर्फको निर्यात ७०.६ प्रतिशत, चीनतर्फ १३७.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात २२.७ प्रतिशतले बढेको छ।
निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको आकार ठूलो रहेकाले व्यापार घाटा उच्च छ। समीक्षा अवधिमा कुल वस्तु आयात ३१.६ प्रतिशतले बढेर ४०१ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धिदर १६.२ प्रतिशत थियो।
भारतबाट हुने आयात २७.४ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट हुने आयात ५६.६ प्रतिशतले बढेको छ।
यससँगै कुल वस्तु व्यापार घाटा २६ प्रतिशतले बढेर ३२४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा वृद्धिदर ८.६ प्रतिशत थियो।
यद्यपि, कुल निर्यात र आयातको अनुपात भने बढेर १९.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.५ प्रतिशत थियो। निर्यात वृद्धिले आयातसँगको अन्तर केही कम गर्न सहयोग गरे पनि व्यापार घाटा अझै ठूलो रहेको तथ्यांकले देखाउँछ।
खाद्य वस्तुको मूल्यवृद्धि उच्च
बाह्य क्षेत्रका सूचकमा सुधार देखिए पनि उपभोक्ताले भोग्ने मूल्यवृद्धिको दबाब बढेको छ। राष्ट्र बैंकका अनुसार २०८३ भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थतर्फ घ्यू तथा तेलको मूल्य १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको मूल्य १२.१४ प्रतिशतले बढेको छ।
त्यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य १२.७७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ८.८३ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ७.४८ प्रतिशत मुद्रास्फीति रहेको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ५.१६ प्रतिशत मुद्रास्फीति देखिएको छ। काठमाडौं उपत्यकामा यस्तो दर ५.२८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
समग्रमा, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स, निर्यात र विदेशी मुद्रा सञ्चितिमा वृद्धि तथा शोधनान्तर बचतले बाह्य आर्थिक क्षेत्रलाई बलियो बनाएको देखिन्छ। तर, आयात र व्यापार घाटाको विस्तारसँगै उपभोक्ता मूल्यमा परेको दबाबले अर्थतन्त्रका चुनौती कायमै रहेको संकेत गर्छ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Two-Months-data-of-2083.84

