Nepal Purbadhar

बेनी-जोमसोम सडक अवरुद्ध हुँदा कोरलाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी मुस्ताङमै रोकिए


मुस्ताङ । बाढीपहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडकमा क्षति पुगेपछि चीनको उत्तरी कोरलानाकाबाट नेपाल भित्रिएका २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन्। सडक सञ्चालनमा आए पनि अवस्था सहज नभएपछि ती सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन कठिनाइ भएको हो।

गत असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी-जोमसोम सडक अवरुद्ध भएको थियो। त्यसयता कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारीसाधन विभिन्न स्थानमा पार्किङ गरेर राखिएका छन्। शुक्रबार साँझदेखि सडक सञ्चालनमा आए पनि सवारीसाधन आवतजावत गर्न पर्याप्त सहज नभएको सम्बन्धित कम्पनीका प्रतिनिधिले बताएका छन्।

सशस्त्र प्रहरी बलको लोमान्थाङ-४, न्हेचुङस्थित बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा २ हजारभन्दा बढी विद्युतीय सवारीसाधन पार्किङ गरेर राखिएका छन्।

कोरलास्थित बोर्डर आउट पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार दशगजा क्षेत्रमा विभिन्न कम्पनीका २ हजारभन्दा बढी र भन्सार यार्डमा २०० भन्दा बढी विद्युतीय गाडी राखिएका छन्।

उनका अनुसार भन्सार जाँचपासपछि स्थानीय चालकले सवारीसाधन भन्सार कार्यालयसम्म ल्याउने र त्यसपछि सम्बन्धित कम्पनीका चालकले गाडी झार्ने गर्छन्। नाकामा रोकिएका सवारीसाधनलाई भन्सार जाँचपासपछि तल पठाउन सहजीकरण भइरहेको उनले बताए।

यसैगरी, कोरलानाकाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका ५०० भन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमका दुईओटा पार्किङस्थलमा राखिएका छन्।

बिवाइडी कम्पनीका सवारीसाधनको खरिद व्यवस्थापनमा संलग्न साइमेक्स इंकका प्रतिनिधि दीपक बुढाथोकीका अनुसार भारी वर्षापछि सडक अवरुद्ध हुँदा कम्पनीका विभिन्न मोडलका २ हजारभन्दा बढी गाडी मुस्ताङमै रोकिएका छन्। सडकको अवस्था कमजोर रहेकाले जोमसोम आइपुगेका सवारीसाधनलाई समेत गन्तव्यतर्फ पठाउन समस्या भएको उनले बताए।

जोमसोम बसपार्क र भन्सार कार्यालयको पार्किङस्थलमा ती गाडी राखिएको उनले जानकारी दिए। असोज ११ गतेअघि बिवाइडीका करिब ४५० ओटा गाडी गन्तव्यतर्फ पठाइएको भए पनि त्यसपछि नेपाल भित्रिएका गाडी सडकको अवस्थाका कारण पठाउन नसकिएको उनको भनाइ छ।

रसुवा र तातोपानी नाका बन्द भएपछि साइमेक्स इंकले कोरलानाकाबाट करिब ३ हजारभन्दा बढी विद्युतीय गाडी नेपाल भित्र्याउने योजना बनाएको पनि बुढाथोकीले बताए। तर, बेनी-जोमसोम सडकको अवस्थाले ढुवानी व्यवस्थापन प्रभावित भएको छ।

यसैबीच, कोरलानाकाबाट आयात गरिएका अन्य मालवस्तुको ढुवानी भने क्रमशः अघि बढिरहेको छ। प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म मालवस्तु बोकेका ६०० भन्दा बढी कन्टेनर मुस्ताङबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।

जिल्लामा रोकिएका कन्टेनर बाहिरिएसँगै मालवस्तु ढुवानीका लागि केही खाली कन्टेनर पुनः कोरलानाकातर्फ उकालो लागेका छन्।

सडकमा भएको क्षतिका कारण चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधनको ढुवानी प्रभावित भइरहँदा सडकलाई पूर्ण रूपमा सहज बनाउनु सम्बन्धित व्यवसायीका लागि प्रमुख चुनौती बनेको छ।


Read Previous

भरतपुरका राजमार्ग र बजार क्षेत्रमा ६२२ सीसी क्यामेराको निगरानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar