Nepal Purbadhar

खाद्य विभागको अनुगमन: रेस्टुरेन्टहरूमा कैफियतै कैफियत, म्याद गुज्रिएका खाद्यवस्तु र तेल नष्ट


काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका विभिन्न खाद्य उद्योग तथा रेस्टुरेन्टमा गरेको संयुक्त तथा आकस्मिक अनुगमनका क्रममा चार ओटा खाद्य व्यवसायमा खाद्य स्वच्छता र गुणस्तरसँग सम्बन्धित विभिन्न कैफियत भेटिएको जनाएको छ। विभागले म्याद गुज्रिएका खाद्यवस्तु, कृत्रिम खाद्य रङ, अत्यधिक प्रयोग भएको खाने तेल तथा अन्य मापदण्डविपरीतका सामग्री नष्ट गर्नुका साथै सम्बन्धित व्यवसायलाई सुधारका लागि निर्देशन दिएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार २०८३ असार २३ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तथा काठमाडौं महानगरपालिकाको संयुक्त टोलीले दरबारमार्ग र ठमेलका दुई रेस्टुरेन्टमा अनुगमन गरेको थियो। त्यस्तै, असार १७ र १९ गते विभागले उजुरी व्यवस्थापनअन्तर्गत आकस्मिक अनुगमन सञ्चालन गरी अन्य दुई खाद्य उद्योगको निरीक्षण गरेको जनाएको छ।

दरबारमार्गको रेस्टुरेन्टमा कृत्रिम रङ र म्याद गुज्रिएको सामग्री

अनुगमनका क्रममा दरबारमार्गस्थित द ब्ल्याक गोल्ड रेस्टुरेन्ट प्रालि मा गरिएको अनुगमनका क्रममा अनुचित रूपमा कृत्रिम खाद्य रङ प्रयोग गरिएको, भान्साको सरसफाइ र फोहोर व्यवस्थापन सन्तोषजनक नरहेको, भण्डारण कक्षमा कीट नियन्त्रण प्रभावकारी नभएको तथा फ्रिजमा खाद्यवस्तु अव्यवस्थित रूपमा राखिएको भेटिएको विभागले जनाएको छ।

तीन थान १०० ग्रामका म्याद गुज्रिएका खाद्य रङ र २०० ग्रामको लेमन साल्ट नष्ट गरिएको छ। साथै पूर्ण लेबल भएका प्रशोधित खाद्यवस्तु मात्र प्रयोग गर्न, खाद्य स्वच्छता कायम राख्न तथा कीट नियन्त्रण थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ। यस सम्बन्धमा थप अनुसन्धान तथा कारबाही काठमाडौं महानगरपालिकाले अघि बढाउने विभागले जनाएको छ।

ठमेलको रेस्टुरेन्टमा म्याद सकिएको चाउमिन र तेल

ठमेलस्थित एक्सप्रेस इट्स प्रालि मा गरिएको निरीक्षणमा कृत्रिम खाद्य रङ प्रयोग गरिएको, भान्सा तथा ढल निकासको सरसफाइ सन्तोषजनक नरहेको, कीट नियन्त्रण प्रभावकारी नभएको तथा दुई थान ७०० ग्रामका म्याद सकिएका चाउमिन फेला परेको विभागले जनाएको छ।

यस्तै, प्रयोग भइरहेको खाने तेलको टीपीएम (टोटल पोलार मेटेरियल) ३८ प्रतिशत पुगेको पाइएपछि करिब दुई लिटर तेल नष्ट गरिएको विभागले जनाएको छ। म्याद सकिएको चाउमिन पनि नष्ट गरिएको छ। व्यवसायलाई खाद्य स्वच्छता कायम राख्न, लेबल भएका खाद्यवस्तु मात्र प्रयोग गर्न तथा कीट नियन्त्रण प्रणाली प्रभावकारी बनाउन निर्देशन दिइएको छ।

पानी उद्योगमा फुटेका जार
उजुरीका आधारमा गरिएको आकस्मिक अनुगमनका क्रममा काठमाडौंको टोखा नगरपालिका–८ स्थित एन.एस. ग्रुप इन्डस्ट्रिज प्रालि मा उद्योगको सरसफाइ सन्तोषजनक नरहेको तथा पानी भरेर बजार पठाउन लागिएका फुटेका, चर्किएका र कुच्चिएका जार फेला परेको विभागले जनाएको छ।

विभागका अनुसार त्यस्ता ४४ वटा जार तत्काल नष्ट गरिएको छ। साथै प्रशोधन कक्षको जीर्ण भुइँ पाँच दिनभित्र मर्मत गरी प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। उद्योगबाट प्रयोगशाला परीक्षणका लागि नमुना समेत संकलन गरिएको विभागले जनाएको छ।

तेल उद्योगलाई सुधार्न निर्देशन

काठमाडौं महानगरपालिका–३, बसुन्धरास्थित अधिकारी तेल मिल मा पनि विभिन्न कमजोरी भेटिएका छन्। विभागका अनुसार उद्योगको सरसफाइ सन्तोषजनक नरहेको, खाद्य पदार्थ र पानी एउटै स्थानमा राखिएको तथा प्रशोधन र भण्डारण कक्ष छुट्टाछुट्टै व्यवस्थापन नगरिएको पाइएको छ।

यस्तै, पूर्ण विवरण नभएको लेबल भएका खाद्यवस्तु पनि फेला परेपछि एक लिटर नरिवलको तेल तथा पाँच किलोग्राम काजु, बदाम र अलसीको बियाँ आपूर्तिकर्तालाई फिर्ता गर्न लगाइएको छ। उद्योगलाई प्रशोधन तथा भण्डारण कक्ष अलग्गै व्यवस्थापन गर्न र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको विभागले जनाएको छ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार नियमित तथा उजुरीका आधारमा अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। खाद्य व्यवसायीले मापदण्ड पालना नगरे कानुनबमोजिम आवश्यक कारबाही गरिने विभागको चेतावनी छ।


Read Previous

‘विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ स्थगन गर्न इप्पान को माग, निजी लगानी प्रभावित हुने चेतावनी

Read Next

मन्त्रिपरिषद्को निर्णय, मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त, अन्य के निर्णय भए?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar