Nepal Purbadhar

पश्चिम नेपालको विद्युत् समस्याप्रति मन्त्री श्रेष्ठको विशेष चासो, फिल्डमै पुगेर अवस्था अध्ययन


काठमाडौँ । पश्चिम नेपालमा लामो समयदेखि दोहोरिँदै आएको विद्युत् अवरोध, न्यून भोल्टेज, मिटर अभाव र जीर्ण वितरण प्रणालीको समस्या समाधानलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले उच्च प्राथमिकतामा राखेका छन्। समस्या कागजी प्रतिवेदनबाट मात्रै बुझ्नेभन्दा फिल्डमै पुगेर वास्तविक अवस्था अध्ययन गर्न उनले नेपालगञ्ज र सुर्खेतमा दुई दिन बिताएका छन्।

स्थलगत भ्रमणका क्रममा मन्त्री श्रेष्ठले ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका प्रदेश प्रमुख, वितरण केन्द्रका अधिकारी, जनप्रतिनिधि, उद्योगी–व्यवसायी र स्थानीयसँग छुट्टाछुट्टै छलफल गर्दै समस्याको कारण, त्यसले पारेको प्रभाव र समाधानका उपायबारे विस्तृत जानकारी लिएका छन्।

छलफलबाट पश्चिम नेपालको विद्युत् वितरण प्रणाली वर्षौंदेखि स्तरोन्नति हुन नसकेको, चार दशकअघि निर्माण गरिएका पूर्वाधारले अहिलेको विद्युत् माग धान्न नसकेको तथा फिडर, ट्रान्सफर्मर र अन्य उपकरणको अभावका कारण सेवा प्रभावित भइरहेको निष्कर्ष निकालिएको छ। नेपालगञ्ज क्षेत्र पश्चिमबाट आउने र पूर्वतर्फ जाने प्रसारण प्रणालीको अन्तिम बिन्दुमा रहेकाले प्राविधिक दबाब बढी पर्ने र त्यसको असर उपभोक्ताले भोग्दै आएको तथ्य पनि मन्त्रीलाई जानकारी गराइएको थियो।

स्थलगत अध्ययनपछि मन्त्री श्रेष्ठले तत्काल समाधान गर्न सकिने र दीर्घकालीन रूपमा गर्नुपर्ने काम छुट्याएर अघि बढ्न निर्देशन दिएका छन्। त्यसको पहिलो परिणामस्वरूप कर्णाली प्रदेशमा देखिएको विद्युत् मिटर अभाव तत्काल हटाउने निर्णय गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आवश्यक पाँच हजार मिटरमध्ये दुई हजार मिटर पुगेर जडान सुरु भइसकेको छ भने बाँकी तीन हजार मिटर एक साताभित्र उपलब्ध गराइनेछ।

सुर्खेतमा वर्षौंदेखि देखिएको न्यून भोल्टेज समस्या समाधानका लागि वितरण प्रणाली स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्था गरी केही महिनाभित्र काम सुरु गर्ने तयारी गरिएको छ। त्यस्तै नेपालगञ्जमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न पूर्वाधार सुदृढीकरण, वितरण सञ्जाल विस्तार र आवश्यक बजेट व्यवस्थापन तत्काल अघि बढाइने भएको छ।

छलफलका क्रममा न्यू नेपालगञ्ज सबस्टेशन निर्माणमा भएको ढिलाइ, फिडर ओभरलोड, ट्रिपिङ, पुराना लाइन, अपर्याप्त ट्रान्सफर्मर र बढ्दो विद्युत् माग नै अहिलेको समस्याका मुख्य कारण रहेको निष्कर्ष निकालिएको थियो।

मन्त्री श्रेष्ठले निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन छिटो सञ्चालनमा ल्याउन आवश्यक समन्वय गर्ने, थप क्षमताका ट्रान्सफर्मर जडान गर्ने, नयाँ फिडर निर्माण गर्ने, पुराना लाइन र कन्डक्टर स्तरोन्नति गर्ने तथा प्रभावकारी लोड व्यवस्थापन लागू गर्ने कामलाई तत्काल अघि बढाइने बताएका छन्। साथै मध्यकालीन र दीर्घकालीन योजना बनाएर पश्चिम नेपालको विद्युत् वितरण प्रणालीलाई नै सुधार गर्ने तयारी गरिएको उनले बताए।

मन्त्री श्रेष्ठले अत्यधिक गर्मीका बेला नागरिक, उद्योग, व्यवसाय र कृषि क्षेत्रमा विद्युत् समस्याले पारेको असरप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै समस्या दोहोरिन नदिने गरी स्थायी समाधानमा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण एकीकृत रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

पश्चिम नेपालमा विद्युत् आपूर्तिको समस्या बढ्दै गएको गुनासोका बीच मन्त्री श्रेष्ठको स्थलगत उपस्थितिलाई समस्या पहिचान र समाधानलाई कार्यान्वयनमा लैजान गरिएको प्रत्यक्ष पहलका रूपमा हेरिएको छ।


Read Previous

कर्णाली नदीमा बेपत्ता बसको खोजी र राजमार्ग स्तरोन्नतिको माग

Read Next

विश्व बजारमा तेलको मूल्य घटेकाले नेपालमा पनि बजार भाउ समायोजन गर्न उद्योगमन्त्री यादवको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar