Nepal Purbadhar

विश्व बजारमा तेलको मूल्य घटेकाले नेपालमा पनि बजार भाउ समायोजन गर्न उद्योगमन्त्री यादवको आग्रह


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूसँग छलफल गर्दै विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि त्यसअनुसार बजार मूल्य समायोजन गर्न आग्रह गरेकी छन्।

सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित विशेष बैठकमा मन्त्री यादवले बजार मूल्यलाई उपभोक्तामैत्री बनाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताइन्।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासंघ तथा चामल, दाल र तेल व्यवसायी महासंघका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता थियो। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या र गुनासा मन्त्रीसमक्ष राखेका थिए।

व्यवसायीका गुनासा सुनेपछि मन्त्री यादवले अनियन्त्रित बजार भाउका कारण सर्वसाधारण उपभोक्ता मारमा परिरहेको उल्लेख गर्दै कुनै पनि बहानामा मूल्य समायोजनमा ढिलाइ नगर्न आग्रह गरिन्। उनले नुन, तेल, चामलदेखि हरियो तरकारीसम्मका अत्यावश्यक दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण सहज बनाउन र बजारको वास्तविक अवस्था मूल्याङ्कन गरी उचित मूल्य कायम गर्न व्यवसायीहरूलाई अनुरोध गरिन्।

सरकार र प्रधानमन्त्रीको समेत बजार व्यवस्थापनप्रति विशेष चासो रहेकाले उपभोक्तालाई राहत पुग्ने गरी बजारलाई यथाशीघ्र उपभोक्तामैत्री बनाउन मन्त्रालय सक्रिय रहेको उनको भनाइ थियो।

बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले पनि बजार मूल्यलाई उपभोक्तामैत्री बनाउन सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। उनीहरूले आम उपभोक्तालाई राहत पुग्ने गरी आवश्यक कदम चाल्न आफूहरू सकारात्मक रहेको बताए।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरू तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित निकायका प्रमुखहरूको पनि उपस्थिति थियो। कार्यक्रमको प्रारम्भमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्र सुवेदीले उपभोक्ता संरक्षण ऐनका प्रमुख प्रावधानबारे संक्षिप्त प्रस्तुति दिएका थिए।


Read Previous

पश्चिम नेपालको विद्युत् समस्याप्रति मन्त्री श्रेष्ठको विशेष चासो, फिल्डमै पुगेर अवस्था अध्ययन

Read Next

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar