
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो काण्डा नेपाल भ्रमणमा आएका छन्। नेपाल सरकारले आर्थिक नीतिका नयाँ प्राथमिकता तय गरिरहेका बेला उनको भ्रमणलाई विकास साझेदारी र पूर्वाधार लगानीका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।
अध्यक्ष काण्डा आइतबार राति एडीबीका उच्च अधिकारीहरूको टोलीसहित काठमाडौं आइपुगेका हुन्। उनको टोलीमा एडीबीको दक्षिण एशिया विभागकी महानिर्देशक सोना श्रेष्ठ पनि सहभागी छिन्।
काठमाडौं आइपुगेलगत्तै सोमबार उनले त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालयको अवलोकन गरेका छन्। भ्रमणका क्रममा एडीबीको वित्तीय सहयोगमा सञ्चालन भइरहेका अन्य विकास आयोजनाको पनि निरीक्षण गर्ने कार्यक्रम छ।
भ्रमणकै क्रममा नेपाल सरकार र एडीबीबीच ५ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर हुने तयारी छ। उक्त रकम भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार सहजीकरण तथा राजस्व प्रणालीलाई थप प्रभावकारी बनाउन खर्च गरिनेछ।
अध्यक्ष काण्डाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने तथा मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले पदभार सम्हालेयता विदेशी कूटनीतिज्ञ तथा उच्च अधिकारीहरूसँगको भेटघाटलाई औपचारिक सरकारी संयन्त्रमार्फत मात्रै अघि बढाउँदै आएका छन्। यसलाई कूटनीतिक मर्यादा र राज्यको प्रोटोकल पालना गर्ने अभ्यासका रूपमा समेत हेरिएको छ।
नेपालमा हालसम्म करिब ३.९ अर्ब अमेरिकी डलर बराबरको वित्तीय सहयोग परिचालन गरिसकेको एडीबी देशको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदार हो।
नेपाल भ्रमणका अवसरमा सामाजिक सञ्जाल ‘एक्स’मार्फत अध्यक्ष काण्डाले नेपालको विपद् सामना गर्ने क्षमता र सम्भावनाको प्रशंसा गर्दै लेखेका छन्, ‘हामी नेपालको लचिलोपनलाई दिगो प्रगतिमा रूपान्तरण गर्न, थप अवसर सिर्जना गर्न र दीर्घकालीन आर्थिक वृद्धिको आधार निर्माण गर्न सहयोग गर्नेछौं।’
