
काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत स्तरोन्नतिको काम भइरहेको धुलिखेल-खावा सडकखण्डमा निर्माण कार्यका लागि रातिको समयमा सवारीसाधन सञ्चालन रोक्ने निर्णय स्थगित गरिएको छ।
सडक डिभिजन कार्यालयका अनुसार वर्षाका कारण निर्माणमा समस्या उत्पन्न भएपछि यसअघि तय गरिएको रातिको समयमा सडक बन्द गर्ने कार्यतालिका परिवर्तन गरिएको हो।
निर्माणलाई तीव्रता दिन असार २२ गतेदेखि १५ दिनसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको थियो। पहिलो चरणको कालोपत्रेका लागि ‘सिटिबी’ र ‘डिबीएम’ गर्न सडक सम्याएर तयार पारिएको सब-बेस केही स्थानमा वर्षाले बगाएको तथा क्षति पुर्याएकाले निर्धारित योजना अनुसार काम गर्न नसकिने अवस्था बनेको कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले कार्यतालिका परिवर्तन गर्नुपर्ने जानकारी दिँदै रातिको समयमा सडक बन्द गर्ने योजना केही समयका लागि सारेको छ।
यसअघि जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले असार २२ गतेदेखि साउन ४ गतेसम्म रातिको समयमा उक्त सडकखण्डमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार टिपर र मालवाहक ठूला ट्रकलाई पूर्ण रूपमा प्रवेश निषेध गर्ने तथा अन्य यात्रुबाहक र मालवाहक सवारीलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालनमा रोक लगाउने तयारी गरिएको थियो।
धुलिखेल-खावा सडकखण्डको विस्तार करिब चार किलोमिटर रहेको छ। डिभिजन सडक कार्यालय भक्तपुरले असार दोस्रो सातादेखि नै रातिको समयमा सवारी आवागमन रोकेर निर्माणलाई तीव्रता दिने योजना बनाए पनि आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले उक्त योजना केही समयपछि सारिएको थियो।
यसअघि गत चैतमा पनि करिब एक महिनासम्म रातिको समयमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरी दिउँसो एकतर्फी सञ्चालन गर्दै करिब अढाई किलोमिटर सडकमा डिबिएम-पिचसहितको कालोपत्रे सम्पन्न गरिएको थियो।
