
तत्कालिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल भेरी अस्पतालमा अनलाइन टिकट काटेर सेवा आरम्भ गर्दै- सांकेतिक रुपमा प्रयोग गरिएको फाईल तस्बीर।
काठमाडौं। नसिक अस्पताल, लगनखेलले बिरामीको सुविधालाई मध्यनजर गर्दै ओपीडी टिकटको अनलाइन सेवा सुरु गरेको छ। अब बिरामीले अस्पतालको वेबसाइटमार्फत घरबाटै ओपीडी टिकट लिन सक्नेछन्।
नेपाल सरकारको मन्त्रिपरिषद्बाट २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूचीको बुँदा नं. ३२ कार्यान्वयन गर्ने क्रममा अस्पतालले अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याएको हो।
मङ्गलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालयको अनुगमन टोलीले अस्पतालको निरीक्षण गरेको थियो। सोही क्रममा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अनलाइन टिकट प्रणाली सञ्चालनमा जोड दिइएको थियो।
अस्पतालका अनुसार नयाँ प्रणालीमार्फत बिरामीले अस्पतालको वेबसाइटबाटै ओपीडी टिकट लिनुका साथै डिजिटल माध्यमबाट टिकट शुल्कसमेत भुक्तानी गर्न सक्नेछन्। यसबाट टिकट लिन अस्पतालमा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हट्ने, सेवा प्रवाह थप सहज, छरितो र पारदर्शी हुने विश्वास गरिएको छ।
अस्पतालले सार्वजनिक बिदाबाहेक अन्य दिन बिहान ९ बजेदेखि १ बजेसम्म तथा दिउँसो २ बजेदेखि ५ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने जनाएको छ। अनलाइनबाट टिकट लिएका बिरामीलाई बिहानको ओपीडीका लागि ९:३० बजेदेखि १२:३० बजेसम्म र दिउँसोको ओपीडीका लागि २:३० बजेदेखि ४:३० बजेसम्म अस्पतालमा उपस्थित हुन अनुरोध गरिएको छ।
