Nepal Purbadhar

सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटबन्दीको चर्चा समाप्त भयो : असिम साह


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र गुट वा उपगुट नभएको बताएका छन्।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभापति रवि लामिछानेको उम्मेदवारीमा प्रस्तावकका रूपमा वरिष्ठ नेता बालेन शाह रहेकाले गुटबन्दीबारे उठ्ने चर्चा स्वतः समाप्त भएको दाबी गरे।

उनले रास्वपामा कुनै समूह वा गुटको अस्तित्व नरहेको उल्लेख गर्दै नेतृत्व चयन प्रक्रिया सहमतिमै अघि बढिरहेको बताए।

संविधान संशोधन कार्यदलका संयोजकसमेत रहेका साहले संविधान संशोधन राष्ट्रिय सहमतिका आधारमा अघि बढाइने स्पष्ट पारे। उनका अनुसार विभिन्न राजनीतिक दलका आ–आफ्ना धारणा भए पनि विस्तृत बहसपछि साझा अवधारणा तयार गरिनेछ।

उनले सय दिनभित्र संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने लक्ष्य रहेको जानकारी दिए। बहसपत्र तयार गर्ने क्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत विभिन्न क्षेत्रका सरोकारवालासँग सुझाव संकलन भइरहेको पनि उनले बताए।

प्रदेश खारेजीको प्रस्तावले सङ्घीयता अन्त्यतर्फ संकेत गर्छ कि भन्ने प्रश्नमा साहले कुनै पूर्वनिर्धारित निष्कर्ष नरहेको बताए। उनले सबै पक्षका धारणा सुनेर राष्ट्रिय सहमतिका आधारमा निष्कर्ष निकालिने र अहिले नै कुनै विषयमा ठोस निर्णय भइनसकेको स्पष्ट पारे।


Read Previous

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड,पूर्वाधार विकास प्राथमिकतामा

Read Next

रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar