Skip to main content

Nepal Purbadhar

निजी क्षेत्रलाई गरिखाने वातावरण बनाउँछौँ : अर्थमन्त्री डा. वाग्ले

संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले। फाइल तस्बीर।


काठमाडौं। नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित ‘आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषय’ सम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए।

उनले उत्पादन, लगानी र रोजगारी विस्तारमार्फत आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार अघि बढिरहेको उल्लेख गर्दै सम्पत्ति शुद्धीकरण वा सम्पत्ति छानबिनका नाममा इमानदार व्यवसायीलाई दुःख दिने उद्देश्य नरहेको स्पष्ट पारे।

“इमानदार व्यवसायी डराउनुपर्ने अवस्था छैन, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्ने र राज्यलाई हानि पुर्‍याउने व्यक्तिमाथि मात्रै कारबाही हुन्छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति ल्याइने जानकारी दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए।

उनले शेयर बजारलाई थप व्यवस्थित र विश्वासिलो बनाउने दिशामा सरकार काम गरिरहेको, घरबहाल कर प्रभावकारी रूपमा कार्यान्वयन गरिने तथा घरजग्गा कारोबारलाई पनि क्रमशः चलायमान बनाउने गरी नीतिगत व्यवस्था अघि बढाइरहेको जानकारी दिए।

अर्थमन्त्रीले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले पर्यटन र बजार गतिविधिमा सकारात्मक प्रभाव परेको दाबी गर्दै अन्तर्राष्ट्रिय विमानस्थलहरूको उपयोग बढाउन कूटनीतिक पहलसमेत भइरहेको बताए।


Read Previous

लगानीकर्ताको मनोबल बढाउन चेम्बरको आग्रह

Read Next

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar