Nepal Purbadhar

लगानीकर्ताको मनोबल बढाउन चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल। फाइल तस्बीर।


काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले मुलुकको आर्थिक विकास र लगानी विस्तारका लागि लगानीकर्ताको मनोबल अभिवृद्धि गर्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।

नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित ‘आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषय’ सम्बन्धी छलफल कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले आर्थिक सुधारको संकेत गरे पनि प्रभावकारी कार्यान्वयनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै लगानी र व्यवसाय सञ्चालनका लागि मर्यादित तथा सुरक्षित वातावरण आवश्यक रहेको धारणा राखे। हालैका आन्दोलनका क्रममा निजी सम्पत्ति तथा उद्योग–व्यवसायमा पुगेको क्षतिले लगानीकर्ताको आत्मविश्वास कमजोर बनाएको भन्दै लगानी सुरक्षाका लागि बिमा आधारित संरक्षण प्रणालीको व्यवस्था गर्नुपर्ने बताए।

अग्रवालले सार्वजनिक सवारीसाधन दर्ता रोक्का गर्ने निर्णयले अटोमोबाइल क्षेत्रमा नकारात्मक असर परेको उल्लेख गर्दै नीतिगत परिवर्तनअघि निजी क्षेत्रसँग पर्याप्त परामर्श, पूर्वसूचना र संक्रमणकालीन व्यवस्था आवश्यक रहेको बताए। उनले कर प्रणाली सुधार, पुँजीगत खर्च वृद्धि, लगानीमैत्री कानुन निर्माण तथा नियामक निकायबीचको दोहोरो हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी, चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल र पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको मनोबल बढाउन लगानीमैत्री वातावरण, नीतिगत स्पष्टता र नियमित सरकारी संवाद आवश्यक रहेको बताए।


Read Previous

प्रत्येक नेपालीको थाप्लोमा करिब १ लाख ऋण, विकास बजेटभन्दा बढी साँवा-ब्याजमा खर्चिनुपर्ने

Read Next

निजी क्षेत्रलाई गरिखाने वातावरण बनाउँछौँ : अर्थमन्त्री डा. वाग्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar