
काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनामा सरकारको पुँजीगत खर्च लक्ष्यको ३२.५३ प्रतिशतमा सीमित भएको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार पूर्वाधार तथा विकास निर्माणका लागि विनियोजित रकममध्ये रु एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख खर्च भएको छ।
सरकारले चालु आर्थिक वर्षमा पुँजीगत शीर्षकमा कुल रु चार खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन गरेको थियो। तर आर्थिक वर्ष सकिन अब एक महिना मात्र बाँकी रहँदा खर्च अपेक्षित गतिमा बढ्न नसकेको देखिएको छ।
यसैगरी, चालु खर्चतर्फ भने ११ महिनामा ७६.९१ प्रतिशत खर्च भएको छ। सरकारले चालु खर्चका लागि वार्षिक लक्ष्य रु ११ खर्ब ८० अर्ब ९८ करोड तोकेकोमा सो अवधिसम्म उल्लेख्य हिस्सा खर्च भइसकेको छ।
त्यस्तै वित्तीय व्यवस्थापनतर्फ वार्षिक रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म रु तीन खर्ब ५ अर्ब ७१ करोड ८१ लाख खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
समग्रमा, चालु आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा पुँजीगत खर्च अपेक्षित स्तरमा नपुग्नु विकास आयोजनाको कार्यान्वयन क्षमता र खर्च प्रणालीको प्रभावकारितामाथि पुनः प्रश्न उठाएको देखिएको छ।

