Nepal Purbadhar

२७ वर्षमै हाइड्रो रोजेका पन्त: हाक्दैछन् अर्बौका परियोजना, संघर्षबाट सिर्जिएको सफलता


सबलबहालदेखि ऊर्जा क्षेत्रसम्मको असाधारण यात्रा

सबलबहाल । काठमाडौंको मुटु न्युरोड ।

जहाँ व्यापारको चहलपहल, संस्कृतिको सुगन्ध र समयको परिवर्तन एकसाथ अनुभव गर्न सकिन्छ । त्यहीँको सबलबहालमा जन्मिएका नरेन्द्र बल्लभ पन्तको जीवन पनि यही सहरजस्तै: बहुआयामिक, संघर्षशील र परिवर्तनशील छ ।


सात पुस्तादेखि त्यहीँ बसोबास गर्दै आएको परिवारको- बौद्धिक परम्परा, कानुनी पृष्ठभूमि र संगीतप्रतिको झुकाव । यी सबैले नरेन्द्र बल्लभ पन्तको व्यक्तित्वलाई आकार दिएका छन् ।
यिनै आधारहरूबाट उठेर उनले रोजेको बाटो भने केही फरक छ – उद्योग, निर्माण र जलविद्युत् विकासको ।
र त्यो पनि केवल २७ वर्षको कलिलो उमेरमै ।


‌++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

बाल्यकाल: संस्कार र सिर्जनाको मिश्रण
पन्तको बाल्यकाल सामान्य थिएन, तर विशेष पनि कुनै विलासी थिएन । उनका बुबा वरिष्ठ अधिवक्ता स्वर्गीय नारायण बल्लभ पन्तले निकै संघर्ष गरेर आफ्नो करिअर निर्माण गरेका थिए ।

कानुनी पृष्ठभुमिको पन्तको घरमा अनुशासन, मेहनत र इमान्दारिताको शिक्षा गहिरो थियो ।
“ब्रह्मनालमा सुत्ने बेलासम्म कर्म गर्नुपर्छ”- बुबाको यो वाक्य पन्तको जीवन दर्शन नै बन्यो । बुबाले सुख दु:ख गरेर छोराहरुको लागि केहि सहज वातावरण बनाइदिनु भयो । निक्कै कष्ट गर्नु भयो तर थाक्नु भएन, आफ्ना दुई छोराका भविष्यका लागि ।

न्युरोडको झिगटीको घरबाट सुरु भएको बाल्यकाल विस्तारै परिवर्तनको साक्षी बन्यो । पन्तले सानोमा आफ्नो घर पनि झिँगटीको देखेका थिए । चिनियाँ बजारको विस्तार, सस्तो सामानको प्रवेश, न्युरोड क्षेत्रमा व्यापारिक गतिविधिको वृद्धि- यी सबै पन्तले नजिकबाट देखे । यही परिवेशले उनलाई व्यवसाय, बजार र परिवर्तनको अर्थ बुझायो । उनले यहिबाट व्यापार बुझे, देखे । प्लाष्टिक ओछ्याएर सामानहरु बेच्नेले व्यापारिक साम्राज्य बनाएको पनि देखे । राम्रो व्यापार गरेर नाम कमाएकाहरु गुमनाम हुन पुगेको पनि देखेका थिए ।


+++++++++++++++++++++++++++++++++++++++++++++++++++

सानैदेखि संगीतप्रति उनको रुचि थियो । परिवारमै संगीतको माहोल थियो। उनका मामाहरू-प्रमोद पाण्डे र उमेश पाण्डे गायन क्षेत्रमा चर्चित थिए । भजन र गीतहरु लोकप्रिय थिए ।

यही प्रभावले पन्तलाई पनि संगीततर्फ तान्यो । उनले लेखेका, गाएका र कम्पोज गरेका गीतहरू चर्चित बने । चर्चित गायिका मेलिना राईसँग गाएको “प्राण प्यारी” चर्चित बन्यो (सरोज खनालसँग) र “निर्माया”- श्रोतामाझ लोकप्रिय भए ।
संगीतले उनलाई संवेदनशील बनायो, भावनात्मक गहिराइ दियो । जीवनले उनलाई अर्को बाटो पनि देखाउँदै थियो-जहाँ सिर्जना केवल गीतमा होइन, संरचनामा पनि गर्नुपर्ने थियो।

पन्त २००४ मा धेरै जसो नेपालीहरुको सपनाको देश अमेरिका पुगे । ग्रीन कार्ड लिए । त्यहाँ स्नातक तहको अध्ययन सके । दुई वर्ष काम पनि गरे । ग्यास स्टेशन, रेस्टुरेन्ट, सब वे मा काम गरे । यी सबै अनुभवले उनलाई जीवनको अर्को पाटो देखायो ।
त्यहाँ उनले एउटा यथार्थ बुझे-
“अमेरिकी सपना भनेको घर, गाडी र बिल तिर्ने चक्र मात्र पनि हुन सक्छ।”

यो अनुभवले उनको सोच बदल्यो । उनले महसुस गरे- विदेश सबै होइन । आफ्नै देशमा केही गर्ने सम्भावना अझ गहिरो छ । यहा त केहि भएकै छैन् । उनलाइ मनमा लाग्यो- घर गाडी र सम्पत्ती मात्रै पनि त जीवन होइन् । जीवन त कला हो, संस्कार हो,परम्परा हो । साथीहरु हुन् । समाज हो ।

उनका बुवाको पनि इच्छा थियो- छोरोले आफ्नै भुमिमा केहि गरोस् । बुवाको यहि प्रेरणाले उनी स्वदेश फर्किए । संयौ युवालाई रोजगारी दिएर देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन थाले ।


२७ वर्षमै हाइड्रोपावरमा प्रवेश

२०४० सालमा जन्मिएका पन्तका लागि जीवनको सबैभन्दा ठूलो मोड आयो- २७ वर्षको उमेरमा ।

युनाइटेड मोदी हाइड्रोपावर परियोजनामा जोडिने अवसर आयो । त्यो परियोजना नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शकुन्तलाल हिराचनको नेतृत्वमा अघि बढिरहेको थियो । हिराचनले अफर गरेकै कारण पन्त यो परियोजनामा जोडिएका हुन् । त्यसकारण सधैभरी उनी हिराचानलाई सम्झन्छन् । उनी प्रति श्रद्धाभाव राख्छन् । उनी सम्झिरहन्छन् ।


‘यदि म युनाइटेड मोदीमा जोडिएको थिइनँ भने, सायद म यो क्षेत्रमा हुन्थिनँ होला,’ पन्त भन्छन् । यो केवल एउटा अवसर थिएन – यो उनको जीवनको दिशा बदल्ने क्षण थियो ।

१० मेगावाटको युनाइटेड मोदी परियोजना केवल एउटा आयोजना थिएन- यो नरेन्द पन्तलगायत धेरै नेपाली प्रवर्धकहरुको ‘स्कुलिङ ग्राउण्ड’ बन्यो । इप्पानका पुर्व अध्यक्ष कृष्ण आचार्य, महेश्वर प्रकाश श्रेष्ठ, आशिष थापा, महेन्द्र बहादुर कार्की जस्ता व्यक्तित्वहरू यही परियोजनाबाट सिकेर अघि बढे ।
पन्तका लागि पनि यो एउटा जीवित विश्वविद्यालय बन्यो । जहाँ उनले प्राविधिक, वित्तीय, व्यवस्थापकीय सबै पक्ष सिके ।


डेढ वर्षमै आयोजना सम्पन्न भयो, बत्ती बल्यो र त्यहीँबाट पन्तको ऊर्जा यात्राको सुरुवात भयो ।


‍++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
चुनौतीमै रमाउने स्वभाव

पन्त शान्त स्वभावका छन् । अरुलाई असर पर्ने कुनै काम गर्दैनन् । तर काममा भने आक्रामक छन् । उनलाई चुनौतीपूर्ण काम मन पर्छ ।
उनी भन्छन् -“जलविद्युत आफैंमा एउटा चुनौतीपूर्ण काम हो । राज्यको नीति, स्थानीय निकाय, सर्वसाधरण, बैंक, वित्तीय संस्था सबै जोडिन्छन् । सबै खालका संस्था र मानिसहरुसंग का गर्नुपर्छ । त्यसैले यो काममा मलाइ रमाइलो लाग्छ ।”


उनका लागि हाइड्रोपावर केवल व्यवसाय होइन । यो एउटा जटिल पजल हो, जसलाई समाधान गर्दै अघि बढ्नुपर्ने हुन्छ । त्यसैमा उनी रमाइरहेका छन् ।
+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
देव ऊर्जा कन्स्ट्रक्सनमार्फत पन्तले जलविद्युत, ट्रान्समिसन, सिभिल, इलेक्ट्रोमेकानिकल-सबै क्षेत्रमा काम गरिरहेका छन् ।
उनको टीमले निर्माण गरेका प्रमुख आयोजनाहरू:

• टक्सार पिखुवा खोला (८ मेगावाट)
• ठूलो खोला (२२.५ मेगावाट)
• युनाइटेड मोदी (१० मेगावाट)

यी आयोजना सञ्चालनमा आइसकेका छन् ।


१७ अर्बभन्दा बढीका आयोजना सम्पन्न गरिसकेका पन्त अब अझ ठूलो सपना देखिरहेका छन् । उनले देखेको सपना विकास हो । उनका लागि कति अर्बको काम गरियो भन्दा पनि कति विकास गरेर राज्यलाइ के योगदान गरियो भन्ने कुराले महत्व राख्छ ।

अहिले उनको टीम ४० अर्ब रुपैयाँ भन्दा बढीको परियोजना निर्माणको तयारीमा छन् । रुकुममा ७५ मेगावाट, सानीभेरीमा १०० मेगावाट, रन्मा खोलामा ३५ मेगावाट- यी सबै योजनाहरू अघि बढिरहेका छन्। पीपीए गरेर अघि बढाउने तयारीमा उनी छन् ।

‘हाइड्रो बनायो भने छोरा मान्छे पक्का हुन्छ’

पहिले पहिले भनिन्थ्यो- घर बनायो भने छोरा मान्छे पक्का हुन्छ । तर पन्तको अनुभव फरक छ- ‘एउटा हाइड्रोपावर बनायो भने मान्छे पक्का हुन्छ । उसले बैंकिङ, फाइनान्स, इन्सुरेन्स सबै बुझ्छ। दुःख के हो थाहा पाउँछ ।’


यो भनाइमा उनको १५ वर्षको अनुभव बोलिरहेको छ ।
+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
निजी क्षेत्रको शक्ति र सम्भावना
पन्तको विश्वास छ -राज्यले वातावरण बनाइदिने हो भने निजी क्षेत्रले ठूला–ठूला परियोजना बनाउन सक्षम छ । जसले ऊर्जा मार्फत देशको मुहार फेर्न सकिन्छ ।

उनका अनुसार नेपालमा उत्पादन गर्ने क्षमता छ । छिमेकी मुलुकमा अत्याधिक ठूलो माग छ । दीर्घकालीन सम्झौताबाट बजार सुनिश्चित गर्न सकिन्छ । उनी भन्छन्- ‘हामीले बिजुलीबाट आर्थिक उन्नति गर्न सक्छौं, जस्तै साउदी अरेबियाले पेट्रोलियमबाट गरेको छ ।’

तर बाटो सहज छैन् । वन स्वीकृति लिन २ वर्ष लाग्ने, बहु-निकायको अनुमति आवश्यक पर्ने, प्रसारण लाइनको अभाव-यी सबै चुनौती छन् ।
पन्त स्पष्ट छन्—
• एकद्वार नीति चाहिन्छ
• प्रसारण प्रणाली निजी क्षेत्रलाई दिनुपर्छ
• वैज्ञानिक योजना बनाउनुपर्छ
उनको अनुभव अनुसार, निजी क्षेत्रले ५ वर्षको काम डेढ वर्षमै गर्न सक्छ ।
देव ग्रुप केवल हाइड्रोमा सीमित छैन । कृषि क्षेत्रमा प्रविधिसँग जोडिएको परियोजना सुरु गर्ने तयारीमा छ । धुलिखेलमा जग्गा लिएका छन् । एआई प्रविधिको प्रयोग गरेर सानो ठाउँमा धेरै उत्पादन गर्न खोजेका छन् । यो परियोजना सफल भए अन्य ठाउँमा पनि विस्ता गर्ने योजना छ ।
ट्रान्समिसन लाइन निर्माण, क्यापिटल मार्केटमा लगानी, इक्विपमेन्ट लिजिङ लगायतका कामहरु पनि गरिरहेका छन् । यी सबै कामहरू भविष्यको विविधीकरण हुन् ।

उनी ऊर्जा उत्पादकहरुको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का कोषाध्यक्ष समेत हुन् । उनी भविष्यमा ऊर्जा प्रवर्धकहरुको यो संस्थाको नेतृत्व गर्नुपर्छ भन्नेमा छन् । धेरै ऊर्जा उत्पादकहरु समेत उनलाई आफ्नो नेता मान्न तयार छन् ।

जीवन दर्शन: कर्म नै पूजा
पन्तको जीवन दर्शन सरल छ- काम गरिरहनु ।


‘म बुबाको सिद्धान्त अनुसार ब्रह्मनालसम्म काम गर्छु । सकेसम्म काम गर्छु, रोजगारी सिर्जना गर्छु, देशका लागि योगदान दिन्छु,’ उनले भने ।
उनका लागि सफलता केवल आर्थिक उपलब्धि होइन । सामाजिक योगदान पनि हो ।


२७ वर्षमै हाइड्रोपावरमा लाग्ने निर्णय सजिलो थिएन । तर यही निर्णयले पन्तको जीवनको दिशा तय गर्‍यो ।


पन्तबाट धेरै कुरा सिक्न सकिन्छ । अवसर उमेरले होइन, दृष्टिले निर्धारण गर्छ, चुनौतीबाट भाग्ने होइन, रमाएर सामना गर्ने हो । विदेशको अनुभव उपयोगी हुन्छ, तर भविष्य आफ्नै देशमा बनाउन सकिन्छ । स्वदेशमा सम्भवना नै सम्भावना छ । आफ्नै भुमि बनाउन मिहिनेत गर्नुपर्छ ।


आज नरेन्द्र बल्लभ पन्त केवल एक उद्यमी मात्र होइनन् । उनी एउटा सोच हुन्, एउटा ऊर्जा हुन्, स्वदेशमै केहि गरौं भन्ने युवाहरुका लागि प्रेरणा हुन् ।


Read Previous

आर्थिक चलखेलमा परेर पीपीए संशोधन, छानबिन हुँदै, प्रधानमन्त्री बालेनले कारबाही गर्न सक्लान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar