
नुवाकोट। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाको अवस्थाबारे स्थलगत अनुगमन गरेका छन्।
शनिबार बिहान नुवाकोटको सदरमुकाम विदुर पुगेका अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित राहत तथा उद्धार कमाण्ड पोस्टको निरीक्षण गरी उद्धार तथा राहत वितरणमा भइरहेका कामबारे जानकारी लिए।
सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार तथा राहतमा प्रभावकारी रूपमा काम भइरहेको जानकारी दिए। उनले हराइरहेका मानिसको जीवितै उद्धारलाई प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र अहिले विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसको उद्धारलाई उच्च प्राथमिकता दिइएको बताए।
उद्धारसँगै विस्थापितका लागि अस्थायी बसोबास, खाद्यान्न तथा अन्य राहत सामग्री वितरणको काम पनि भइरहेको जानकारी सेनाले अर्थमन्त्रीलाई दिएको थियो। बाढीग्रस्त क्षेत्रमा तत्काल बेलिब्रिज आवश्यक रहेको विषयमा समेत जानकारी गराइएको थियो।
अर्थमन्त्री वाग्लेले उद्धार, उपचार तथा पुनर्स्थापनाका लागि सरकारबाट पूर्ण साथ र सहयोग रहने बताए। उनले आवश्यक स्रोतसाधनको अभाव हुन नदिने भन्दै उद्धारमा खटिएको नेपाली सेनालाई आवश्यक सहयोगका लागि समयमै जानकारी गराउन आग्रह गरे।
त्यसपछि वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र तथा राहत सामग्री सङ्कलन र वितरण केन्द्रको निरीक्षण गरे। उनले उद्धार केन्द्रमा आफन्तजन खोज्दै आएका पीडित परिवारसँग भेट गरी उनीहरूका समस्या सुने।
नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा परिवारका सदस्य फसेको भन्दै आफन्तले उनीहरूको तत्काल उद्धारका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा वाग्लेले सुरुङमा फसेका नागरिकको उद्धार उच्च प्राथमिकतामा रहेको जानकारी दिँदै नेपाली सेना तथा अन्य सुरक्षाकर्मीको उद्धार प्रयासमा विश्वास गर्न आग्रह गरे।
वाग्लेले बाढीले ध्वस्त बनाएको ढुङ्गे बजार र ऐतिहासिक देवीघाट बजारको समेत स्थलगत निरीक्षण गरे। उनले प्रभावित परिवारसँग भेटेर क्षतिको अवस्था र तत्काल आवश्यक पर्ने सहयोगबारे जानकारी लिए।
देवीघाटमा उनले बाढीपीडित स्थानीयलाई सरकार उनीहरूको साथमा रहेको भन्दै ढाडस दिए। हराएका आफन्तको खोजी, राहत, उपचार तथा पुनर्स्थापनामा सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए।
अर्थमन्त्रीले गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुलको समेत निरीक्षण गरे। त्यसैगरी तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर उद्धार गरिएका स्थानीयसँग भेट गरे।
बाढीबाट बग्दै गरेको अवस्थामा उद्धार गरिएका स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै वाग्लेले उनीहरूको थप स्वास्थ्य लाभको कामना गरे। उनले प्रभावितलाई उचित पुनर्स्थापना गर्ने प्रतिबद्धता जनाए। स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग पनि उनले स्रोतसाधनको अवस्थाबारे जानकारी लिए।
यसैबीच अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाका विषयमा छलफल गरे।
जिल्ला समन्वय समितिको हलमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले केन्द्र सरकारबाट कुनै पनि स्रोतको अभाव हुन नदिने स्पष्ट पारे। उनले सबै पक्ष एकजुट भएर विपद्पछिको प्रतिकार्यमा जुट्न आग्रह गरे।
‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ,’ भन्दै उनले आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर नसोची प्रभावित नागरिकलाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने गरी काम गर्न आग्रह गरे।
दिनभरको स्थलगत अनुगमनपछि वाग्ले नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुगेका थिए। त्यहाँ विपद्पछिको उद्धारमा खटिएका गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री बिक्रम तिमल्सिना तथा नेपाली सेनाका उच्च अधिकारीबाट उद्धार तथा राहत कार्यबारे सुरक्षा ब्रिफिङ लिए।
ब्रिफिङअनुसार अहिले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले मृतकको शव सङ्कलन तथा राहत वितरणलाई समेत तीव्र बनाएको छ।







