Nepal Purbadhar

कर्णालीमा विद्युत सेवा सुधार गर्न प्राधिकरणलाई यान्त्रिक क्रेन उपलब्ध गराइने


काठमाडौं। कर्णाली प्रदेशमा विद्युत आपूर्तिलाई थप भरपर्दो, छिटो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ। यसबाट विद्युत अवरोधपछि मर्मत कार्यलाई तीव्र बनाउन र सेवा पुनःस्थापनामा लाग्ने समय घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गत असार दोस्रो साता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कर्णाली प्रदेशसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनका क्रममा सुर्खेतलगायत क्षेत्रमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत आपूर्ति अवरुद्ध हुने समस्या र मर्मतका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी लिनुभएको थियो।

अनुगमनका क्रममा नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले आवश्यक उपकरणको व्यवस्थापनका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको थियो। त्यसपछि मन्त्री श्रेष्ठको पहलमा आवश्यक समन्वय अघि बढाइएको र त्यसकै परिणामस्वरूप प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन आवश्यक सर्भिसिङ तथा प्रशासनिक प्रक्रिया पूरा गरी कर्णाली पठाउने निर्णय गरिएको हो।

हालसम्म कर्णालीमा विद्युत प्रसारण तथा वितरण प्रणालीमा समस्या आउँदा मर्मतका लागि अन्य प्रदेशबाट क्रेन ल्याउनुपर्ने बाध्यता थियो। यसका कारण सेवा पुनःस्थापनामा ढिलाइ हुने गरेको थियो। अब प्रदेशमै आवश्यक उपकरण उपलब्ध भएपछि मर्मत कार्य छिटो हुने, विद्युत अवरोधको अवधि घट्ने तथा सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्थानीय तहमा देखिएका व्यावहारिक समस्या समाधान गर्दै विद्युत सेवाको गुणस्तर सुधार गर्ने र नागरिकलाई छिटो, सहज तथा भरपर्दो सेवा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।


Read Previous

गणेश नेपाली प्रकरणमा सरकार,महानगरपालिका र पीडित पक्षबीच भएको ९ बुँदे सहमतिमा के छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar